प्रधानमन्त्रीज्यू, अब तपाईंले विनम्रता र पूर्ण संवेदनशीलताका साथ माफी माग्दै मार्गप्रशस्त गर्नुपर्छ

प्रधानमन्त्रीज्यू,

यो सामान्य गोली चलेको घटना होइन । कृपया घूसपैठ भयो भनेर प्याच्च ओठे जवाफ नदिनुहोला । तपाईंको बोली पनि कतिबेला गोलीभन्दा बढी क्षति गर्ने खालको हुने गरेको छ । दिनभर देशको प्रधानमन्त्री यति ठूलो घटनामा बोलेन । यो आफैंमा पीडादायक थियो । तर बोल्यो भने झन् आगो लाग्ने हो कि भन्ने अर्को पीर पनि थियो । यस्तो कलिला बालबच्चाको रगतमाथि कस्तो सत्ता र शक्ति कति दिन टिक्न सक्ला र ! सिङ्गो देश शोकमा छ ! मिडियामा आएका दृश्य हृदयविदारक र मनमस्तिष्क हल्लाउने खालका छन् । देशमा यति धेरै असन्तुष्टि, निराशा, क्षोभ, आवेग र घृणा भरिएको रहेछ ।

सोसल मिडिया बन्द गर्नु उपयुक्त निर्णय होइन भनेर बारम्बार लेखिएकै थियो । लहडपूर्वक राष्ट्रियताको दुहाई दिएर गरिएको त्यो बन्दले उल्टै अन्तर्राष्ट्रिय जगतमा देशको बेइज्जत भएको छ । अभिव्यक्ति स्वतन्त्रताको माग गर्दा युवामाथि गोली हानिएको खबर छापिएका छन् । आमजनतामा सरकार, व्यवस्था र राजनीतिप्रति झन् घृणा र आक्रोश बढेको छ ? यसले कुन खालको राष्ट्रियता सम्वद्र्धन भयो होला ?

यो कुनै दलको, वादको, व्यवस्थाको या जातिको विद्रोह थिएन । देशको सबैभन्दा कलिलो युवा पुस्ता सडकमा आउँदै छ भन्ने तपाईंलाई थाहा थियो । सडकमा आउँदै गरेको कारण पनि थाहा थियो । के त्यसलाई पहिल्यै रोक्न सकिन्नथ्यो ? गुप्तचरदेखि अनुसन्धानका सबैजसो निकायको स्वामित्व आफ्नै कार्यालयमा खिचेको तपाईंले नै होइन र ? के सूचना दिए त तिनले तपाईंलाई ? तपाईकै नेतृत्वमा सुशासन समितिहरू बनेको होइन ? घूस मागेको अडियो नै बाहिर आउँदा पनि बचाउ गर्ने तपाईं नै होइन ?
लोकतन्त्रमा देशको भविष्य मानिने युवापुस्ता सडकमा आउँदा यसरी इतिहासकै क्रूर दमनको घटना कसरी भयो होला ? यो रगतको दाग सजिलै मेटिएला र ? देशभर यत्रो निराशा र घृणा छ, कसलाई शासन गर्ने हो र तपाईंहरूले ?

अस्ति राजावादी भनिने आन्दोलनमा समेत नृशंस प्रहरी दमन भयो । आन्दोलनसँग सरोकार नै नभएका सर्वसाधारणलाई पछाडिबाट गोली हानियो । तर सामान्य छानबिनसम्म भएन । आज त्यही घटनाले बल थपेको होइन र ? गृहमन्त्रीको राजीनामा त्यतिबेलै आउनुपर्ने थियो ।

इतिहासकै दुर्भाग्यपूर्ण र खेदजनक यो रक्तपातमा तपाईं एक्लै जिम्मेवार हुनुहुन्न । यो निराशा दशकौँदेखि उम्रिँदै र बढ्दै आएको थियो । वर्तमान राजनीतिका सबै खेलाडी यसका जिम्मेवार छन् । तर तपाईंले चाहेको भए यो वीभत्स दुर्घटना टर्न पनि सक्थ्यो । हरेक पल्ट आगो थप्ने काम तपाईंबाट हुँदै आयो ।

जे घटना घट्यो, पक्कै तपाईं पनि दुःखी हुनुहुन्छ । तर यो अक्षम्य घटनाको सबैभन्दा ठूलो जिम्मेवारी पनि तपाईंले नै लिनुपर्छ । गृहमन्त्री यसमा पूर्ण दोषी छन् । अहिले राजीनामा लिने अनि अर्को समीकरण बन्दा रक्षामन्त्री बनाउने जस्तो ख्यालख्याल अब चल्दैन । राजीनामा दिएर उम्किन मिल्ने प्रकृतिको घटना होइन यो । उनले कानुनी कठघरामा उभिएर अन्य दोषीसँगै बयान दिनुपर्छ । तत्कालका लागि तपाईले विनम्रता र पूर्ण संवेदनशीलताका साथ माफी माग्दै मार्गप्रशस्त गर्नपर्छ । गृहमन्त्रीको राजीनामा, केही कर्मचारीको सरूवाबढुवा लगायतका अरू लिपापोती कदमका लागि धेरै ढिला भयो ! जे घट्यो, त्यो कत्ति पनि सामान्य होइन ।

-नारायण गाउँले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *