विश्वकप छनोटमा स्पेन र बेल्जियमको फराकिलो जित

एजेन्सी ।  फिफा विश्वकप-२०२६ को युरोपेली छनोट अन्तर्गत भएको खेलमा स्पेन र बेल्जियम विजयी भएका छन् । आइतबार राति भएको खेलमा स्पेनले टर्कीएलाई ६-० गोलले हराएको हो ।

स्पेन्लाई जित दिलाउन मिकेल मेरिनोले ह्याट्रिक पूरा गर्दा पेड्रीले दुई र फेरान टोरेसले एक गोल गरे । खेलको छैटौं मिनेटमा पेड्रीले गोल गर्दै स्पेनलाई शुरूवाती अग्रता दिलाएका थिए । २२ औँ मिनेटमा ओयार्जाबालको पासमा मेरिनोले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा पेड्रीको पासमा मेरिनोले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई पहिलो हाफमा ३-० गोलको अग्रता दिलाएका थिए ।

५३ औँ मिनेटमा यामालको पासमा टोरेसले गोल गर्दै स्पेनलाई फराकिलो जिततर्फ अग्रसर गराए । ५७ औँ मिनेटमा यामालकै पासमा मेरिनोले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गर्दा स्पेनले खेलमा ५-० गोलको अग्रता लिएको थियो । यस्तै ६२ औँ मिनेटमा पेड्रीले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ६-० गोलको अग्रता दिलाए ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा स्पेन ६-० गोलले विजयी भएको हो । जितसँगै स्पेन २ खेलबाट ६ अंक जोड्दै समूह ‘ई’को शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट ३ अंक जोडेको टर्कीए तेस्रो स्थानमा रहेको छ ।

यस्तै गएरातिनै भएको अर्को खेलमा बेल्जियमले काजाखस्तानलाई ६-० गोलले हराएको हो । घरेलु मैदानमा भएको खेलमा बेल्जियमलाई जित दिलाउन केभिन डी ब्रुयन र जेरेमी डोकुले समान दुई/दुई गोल गर्दा निकोलस रस्किन र थोमस मुनिएरले समान एक/एक गोल गरे ।

जितसँगै बेल्जियम ४ खेलबाट १० अंक जोड्दै समूह ‘जे’को दोस्रो स्थानमा उक्लिएको छ भने एक खेल बढि खेलेको काजाखस्तान ३ अंकको साथ चौथो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *