आफ्नो पुस्ताको हक खोज्न एक ढिक्का भएर नयाँ पुस्ता आयो भने ढिलो चाँडो बाटो दिनैपर्छ

-नारायण गाउँले ।

मेरो पुस्तालाई बहुदलले धेरै दियो होला तर कहिल्यै नमेटिने एउटा घाउ पनि दिएको छ । कांग्रेस र कम्युनिस्टका रूपमा म हुर्केको समाज एकदम विभक्त, विषाक्त र आक्रामक थियो । सामाजिक, सामुदायिक र पारिवारिक तहमैं त्यो विभाजन सघन र तिक्ततापूर्ण थियो । आफ्नै छरछिमेक र दाजुभाइबीच पनि एकले अर्कोको अस्तित्व स्वीकार नगर्ने, साङ्घातिक हमलामैं उत्रिने, राष्ट्रघाती भन्नेसम्मका आरोप–प्रत्यारोप लगाउने र समुदायबाटै बहिष्करण गर्ने शत्रुतापूर्ण स्थिति थियो । कुनै शत्रुता र अर्थबिनै गाउँभरि शत्रु थिए । अर्को दलको भन्नेबित्तिकै त्यो सामन्ती, दलाल, चोर, पुरातनवादी, पश्चगामी, निरङ्कुश, फटाहा, डाँका, घूसखोर र असामाजिक प्राणीजस्तो थियो । त्यस्तो घृणा र शत्रुतापूर्ण वातावरणमा हाम्रो बालापन बित्यो र त्यसको असर आजसम्म मेटिएको छैन ।

आज पूर्ण लोकतन्त्रको देश बेलायत या जापान जहाँ पुगे पनि हामीभित्र त्यही दूषित रगत छ । जसका कारण विदेशमा जन्मेका नयाँ संस्था पनि निकम्मा छन्, तिक्ततापूर्ण र झगडाका केन्द्र छन् । अमेरिका पुगेर पनि हिजोको कम्युनिस्टले कम्युनिस्ट मात्रै साथी बनाएको छ, कांग्रेसले कांग्रेसमात्रै सद्दे मान्छे ठानेको छ । हुने के हो त थाहा छैन, तर तिनले एउटा नयाँ संस्था खुल्यो भने दलकै लाइनमा कब्जा गर्ने धन्दा सुरु गरिहाल्छन् । बरु छोरीले विदेशी केटा रोजोस् तर अर्को पार्टीको नरोजोस् भन्ने चेत छ । खानेपानीको उपभोक्ता बन्न कुन विचार, कुन दर्शन या कुन पार्टी चाहिएला ? तर हामीलाई चाहिन्छ । टोलसुधार गर्न माओ, माक्र्स या बीपी चाहिन्छ । लड्न पर्छ । मन्दिर, जङ्गल, पार्क या स्कुलको व्यवस्थापन गर्न वादको नाममा लड्न पर्छ ।
मानवता, सामीप्य, भाषा, भूगोल, जाति या नाताभन्दा माथि रहेको त्यस्तो दलीय दासत्वबाट मुक्ति पाउन हाम्रो पुस्ता समर्थ भएन । देश छोडेर जानेले पनि त्यो दासत्व छोड्न सकेन ।

यो घाउ र रोगले अन्य धेरै पुस्तालाई पनि बिरामी बनाउँछ कि । यो इनफेक्शनले मपछिको पुस्तालाई पनि गलाउँछ कि भन्ने ठूलो डर लागिरहन्छ । पुरानामात्रै होइन, केही नयाँ भनिएकाहरूले पनि यसलाई मलजल गरिरहेको देख्दा मन खिन्न हुन्छ ।
तर अहिलेकोGen Z पुस्तालाई नजिकबाट हेर्दा यो इन्फेक्शन निर्मूल हुँदै गएको जस्तो लाग्छ । कल्ट होला, व्यक्तिको लोकप्रियता र त्यसका पछाडि दौडिने दृश्य होला, कुनै स्पष्ट दिशा र गन्तव्य नहोला तर आजको नयाँ पुस्तासँग त्यो दलीय फोहोरको स्थायी झोला छैन । डामिएको डोब छैन । यो पुस्ताले आज गल्ती गर्न सक्ला तर त्यो गल्तीलाई सिद्धान्तका नाममा, आस्थाका नाममा र निष्ठाका नाममा सधैँ पूजा गर्दैन । भोलि नै सच्याउन सक्छ । दल उखेल्ने होइन, दलीय दासत्व उखेल्ने हो ।
सडकमा कांग्रेस आए, कम्युनिस्ट आए, राजासँग सत्ता खोस्ने बेला सँगै पनि आए । तर ती एक भएर आएनन् ।

आफ्ना झण्डा र दलीय स्वार्थ बोकेरै आए । ती सँगै भएर पनि चिनिने गरी फरक फरक आए । तर अहिलेको पुस्ता एक भएर आउँदै छ । आक्रोश होला, आवेग होला, घृणा पनि होला, सपना पनि होला । तर त्यो एक बनेर आयो भने त्यसले फोहोर बढार्न पनि सक्छ । ठूलो पानी र भलपछि सड़क र आकाश सफा देखिन पनि सक्छ । आफ्नो पुस्ताको हक खोज्नका लागि एक ढिक्का भएर नयाँ पुस्ता आयो भने ढिलो चाँडो बाटो दिनैपर्छ । दिए आदरपूर्वक लिन्छ, नदिए खोसेर लिन पनि सक्छ । केही नभए पनि मजस्ता भुक्तभोगीलाई एउटा सिङ्गो पुस्ता त्यो दलीय विभाजन र झण्डाबाट बाहिर आउँदै गरेकोमा त्यसै खुशी लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *