काठमाडौँ । सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारीहरुले आन्दोलन घोषणा गरेका छन् । पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल, गोविन्द आचार्य, रमेश विष्ट लगायतका पूर्वपदाधिकारीहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गरी आन्दोलन घोषणा गरेका हुन् ।
उनीहरूले सरकारको यो कदमलाई ’अलोकतान्त्रिक र असंवैधानिक’ भन्दै तत्काल फिर्ता लिन अल्टिमेटम दिएका छन् । संसद्बाटै कानुन बनाएर नियमनको बाटो खुला हुँदा हुँदै सरकारले सामाजिक सञ्जालहरुलाई पूर्णरूपमा बन्द गर्ने कठोर र अलोकतान्त्रिक कदम चालेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् ।
विज्ञप्तिमा दर्ता नभएको बहानामा सामाजिक सञ्जालमाथि लगाइएको यो प्रतिबन्धले नेपालको संविधानले प्रत्याभूत गरेका धारा १७ (स्वतन्त्रताको हक), धारा १९ (सञ्चारको हक) र धारा २७ (सूचनाको हक) जस्ता मौलिक अधिकारहरूमाथि सिधा प्रहार गरेको उल्लेख छ।