पोखरा । भात्साल्य एभरेष्ट महिला भलिबल लिगमा कर्णाली यश्विस र ललितपुर क्विन्सले लगातार दोस्रो जित निकालेका छन् । शनिबार दिउँसो भएको पहिलो खेलमा ललितपुरले काठमाडौं स्पाइकर्सलाई ३-० को सोझो सेटमा हराएको हो ।
पोखरा रंगशालास्थित कभर्ड हलमा भएको खेलमा ललितपुरले पहिलो सेट २५-१९, दोस्रो सेट २५-२३ र तेस्रो सेट २५-२१ ले जितेको हो ।
यस्तै अर्को रोमाञ्चक खेलमा कर्णालीले लुम्बिनी लाभासलाई ३-१ को सेटमा हराएको हो । लुम्बिनीले पहिलो सेट जितेपनि त्यसपछिको तीन सेटमा कर्णालीले शानदार पुनरागमन गरेको हो । पहिलो सेट २५-२३ ले गुमाएको कर्णालीले दोस्रो सेट २५-२१, तेस्रो सेट २५-१७ र चौथो सेट २५-२२ ले जित्दै लगातार दोस्रो जित निकालेको हो ।
आजै भएको तेस्रो खेलमा पोखरा निन्जाजलाई ३-० को सोझो सेटमा हराउँदै मधेश युनाइटेड प्रतियोगितामा पहिलो जित निकाल्न सफल भएको हो । मधेशले शुरुवाती दुई सेट समान २५-१९ र तेस्रो सेट २५-२३ ले जित्दै खेल आफ्नो पक्षमा पारेको हो ।
अब भोलि आइतबार काठमाडौं स्पाइकर्स र मधेश युनाइटेड तथा लुम्बिनी लाभास र पोखरा निन्जाज भिड्नेछन् ।