काठमाडौं । शनिबार बिहान ललितपुरको हरिसिद्धि घुम्तीको जेब्राक्रसमा को १ झ ६९९ नम्बरको सरकारी गाडी एक बालिकालाई ठक्कर दिएर भाग्छ । खासमा त्यो कारमा ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको विधान महाधिवेशनमा भाग लिन आएका कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर सवार थिए । बालिकालाई ठक्कर दिएर गाडी भागेको सिसीटिभी फुटेज एकछिनमा सामाजिक सञ्जालमा फैलियो । स्थानीयले सडक अवरुद्ध गरे । केहीबेर त्यो क्षेत्र तनावपूर्ण नै बन्यो । तर प्रधानमन्त्रीले केपी शर्मा ओलीले त्यो घटनालाई सामान्य रुपमा लिए । उनले बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी उपचारका लागि अस्पताल पठाएको जानकारी दिए । प्रधानमन्त्रीले दुर्घटना भवितव्य भएकाले महाधिवेशन अवरोध गर्न कसैले राजनीति गर्न खोजेको बताए । उनले भने, ‘गाडीले लागेको बालिकालाई अस्पताल लगिसकियो । त्यस्तो कुनै नियत थिएन । पार्टीले उनको सम्पूर्ण उपचार खर्च बेहोर्छ । घटनाप्रति दुःख व्यक्त गर्दछु । कहिलेकाहीँ यस्ता अप्रिय घटना हुन्छन् । यसमा हामी पनि दुःखी भएका छौँ र बालिकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।’
धन्न बालिकालाई ठूलो चोट लागेनछ र आजै उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् । तर प्रधानमन्त्रीले भनेजस्तो हिट एण्ड रन सामान्य घटना थियो त ? के घटनाको दृष्य हेर्दा कसैलाई लाग्छ यो सामान्य घटना ? प्रधानमन्त्रीको टिप्पणीपछि सामाजिक संजालमा उनको खुबै आलोचना भएको छ । तर प्रधानमन्त्री ओलीले यसलाई सामान्यीकरण गरे त ? मन्त्रीको ठाउँमा सर्वसाधारणले यसरी ठक्कर दिएको भए त्यो पनि सामान्य नै हुने थियो त ? किनकी ठक्कर दिएपछि मन्त्रीले सामान्य मानवीयता पनि नदेखाई गाडी भागेको छ । यो त अदालतले व्याख्या गर्ने विषय हो नि । तर किन प्रधानमन्त्रीले सामान्य बनाए ।
दुर्घटना अघि र पछिको नियत अनुसन्धानको मुख्य पक्ष हो । हिट एण्ड रन अर्थात् ठक्कर दिएर भाग्ने कुरा गम्भीर अपराध मानिन्छ । सामान्य ठक्कर हो, अस्पताल लगे अरुले–सकियो भन्ने हुँदैन । नेपालमा हिट एण्ड रन भयो भने, मान्छे घाइते÷मरेको खण्डमा ३ देखि १० वर्ष जेल र जरिवानाको व्यवस्था छ ।
त्यस्तै बेलायतमा रोकिएर विवरण नदिएमा पनि सजाय हुन्छ । उसलाई ६ महिना जेल वा ५ हजार डलर जरिवाना हुन्छ । यदि मृत्यु/गम्भीर चोट भयो भने सजाय झन् कडा अर्थात् १४ वर्ष जेल र आजीवन कारावासका सजाय पनि हुनसक्छ । त्यस्तै जर्मनीमा भागेमा ३ वर्ष जेल वा जरिवाना र घाइतेलाई मद्दत नगरे अझै १ वर्ष जेल वा जरिवाना थपिन्छ । अमेरिकामा राज्य अनुसार ६ महिनादेखि १८ वर्षसम्मको जेल सजायको व्यवस्था छ ।
नेपालमा त कानुन बनाउने र लागू गर्ने जिम्मेवारी पाएको जनप्रतिनिधि नै आँखा अगाडि बच्चालाई ठक्कर दिएर भाग्छ । बेवारिसे बन्न सक्ने घटनाको भिडियो नै बाहिर आउँदासमेत कसैले माफी माग्दैन । न मानवता छ, न नैतिकता । जहाँबाट विनम्रता र सहानुभूतिपूर्वक माफी मागिनुपर्ने हो त्यहीँबाट सामान्य घटनालाई राजनीतीकरण नगर्ने धम्की आउँछ । अझ उल्टो पार्टीको अधिवेशन बिथोल्न खोजिएको जस्तो बकम्फुसे आरोप आउँछ । ‘हिट एन्ड रन’जस्तो गम्भीर अपराध, त्यो पनि जेब्राक्रसमा ! तत्काल हिरासतमा पुगेर त्यहीँबाट माफी माग्न पर्ने घटनाको विरोध गर्नु राजनीतिकरण होइन । यसलाई राजनीतिसँग जोडेर सामान्य घटना मान्नु बरु राजनीतिकरण हो ।
हेर्नुस् भिडियो