काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गर्दै शनिबार परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइएको छ । इन्द्रजात्रामा भाग लिन राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तित्वहरू वसन्तपुर पुगेका थिए ।
वसन्तपुमा राष्ट्रपति पौडेललाई काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले स्वागत गरेका थिए भने प्रधानमन्त्री ओलीलाई महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेका थिए ।
हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा धूमधामका साथ मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्र ध्वजासहितको लिङ्गो ठड्याइएपछि आठ दिनसम्म चल्ने यो जात्रा सुरु हुन्छ।
यस अवधिमा विभिन्न नाचगान, रथयात्रा र देवी–देवताको पूजाआजा गर्ने परम्परा छ । इन्द्र ध्वजलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ, जसको फेदमा भैरवको पूजा गर्ने प्रचलन छ।
यो पर्व शत्रुमाथि विजय र शक्तिको प्रदर्शनका रूपमा मनाइने गरिएको मानिन्छ । आजको मुख्य आकर्षणमा हनुमानढोका दरबारस्थित गद्दी बैठक अगाडि जीवित देवी श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा रहनेछ। यो परम्परामा विगतमा राजाले स्वयं उपस्थित भएर दर्शन गर्ने चलन थियो, अहिले भने राष्ट्रपतिबाट अवलोकन गर्ने प्रथा कायम छ।
तस्बिर : किरणराज विष्ट/रासस

