काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले रुपन्देही–३ का आकांक्षी उम्मेदवारको प्रारम्भिक निर्वाचनको नतिजा सार्वजनिक नगरेकोमा असन्तुष्टि जनाएका छन् । शनिबार सामाजिक संजालमार्फत कार्कीले चुनाव बलियो हो भन्ने हामी रास्वपासमेत प्रारम्भिक चुनावको नतिजा सार्वजनिक नगरेर आफ्नै चरित्रबाट भागे जस्तो देखिएको बताएका हुन् ।
रुपन्देही -३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि ९ जना आकांक्षीबाट एकजना उम्मेदवार छनोट गर्न रास्वपाले भदौ १२ र १३ गते पार्टीभित्र प्रारिम्भक निर्वाचन गरेको थियो । पार्टीले भदौ १५ गते साँझ डा. लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय सार्वजनिक गरेको थियो । तर कुन आकांक्षीले कति मत पाए भन्ने सार्वजनिक गरिएको थिएन । मत मतपरिणाम सार्वजनिक नगएको भन्दै कार्कीले असन्तुष्टि जनाएका हुन् ।
उनले भने, ‘हामीले मिसन ८४ भन्नुको अर्थ सरकार चलाउनेप्रतिको आक्रोशलाई मतपेटिकामा पोख्ने र त्योदेखि सकारात्मक परिवर्तन ल्याउने भन्ने हो । आन्दोलन भन्दा चुनाव र सडक भन्दा संसद बलियो बनाउने भन्ने कुरा हो । तर सरकारले संसदले बनाउनु पर्ने नियम बर्षौँ नबनाउने तर सरकार आफैले बनाएको एउटा विवादित निर्देशिका देखाएर सामाजिक सञ्जाल बन्द गरेको छ र त्यसमा राष्ट्रवादको लेपन लगाएको छ । सरकार, दल र नेताहरूको भ्रष्टाचार, बेथिति र अपमानबाट नागरिक वाक्क भएका छन् । चुनाव बलियो हो भन्ने हामी रास्वपासमेत प्रारम्भिक चुनावको नतिजा सार्वजनिक नगरेर आफ्नै चरित्रबाट भागे जस्ता देखिदैछौँ । यस्ता सानासाना कारणहरू जोडिएर युवापुस्ता सडकमा उत्रिने भनेर मिति तोकेर तयारी गर्दैछ । यो मिति टर्यो भने अर्को मिति आउँछ, यो समूह थाक्यो भने अर्को समूह आउँछ । मिसन ८४ भनेर मुखले मात्र नागरिकलाई चुनाव र संसदको विश्वास दिलाउन सकिदैन ।’