बाढीको चपेटाले ओझेलमा पर्‍यो ‘पञ्चकन्या झरना’

धुलिखेल । पछिल्लो समय ‘पञ्चकन्या झरना’ सुनसानजस्तै छ । पहिला झरनाको वरिपरि आनन्द लिनेहरूको घुइँचो लाग्ने गर्थ्यो तर अहिले उक्त स्थानमा मानिसहरू बिरलै पुग्ने गरेका छन् ।

एक वर्ष अगाडि गएको बाढीपहिरोको कारण त्यहाँसम्म जाने सडक र आसपासको क्षेत्रमा पुगेको क्षतिका कारण काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ खारखोलामा रहेको पर्यटकीय झरना ओझेलमा पर्दै गएको हो ।

पनौती–रोशी बजार–सिरुखोला–पचारेदोभान र खारखोला भएर झरना जाने बाटो बाढीले बगाएपछि पर्यटकलाई त्यहाँसम्म जानका लागि समस्या भएको छ । अहिले मानिसको आवागमन कम हुँदै गएको पञ्चकन्या ट्राउट हाउस एण्ड मिनि रिसोर्ट सञ्चालन गर्दै आएका सञ्चालक दीपेन्द्र लामिछानेले बताए। “एकातिर बाढीले पोखरी र बाटोमा क्षति पुर्‍यायो, अर्कोतिर काठमाडौँबाट आउने पर्यटकका लागि सूर्यविनायक–साँगा–धुलिखेलको सडक विस्तारका कारण बाटो असहज भएपछि मानिसहरूको आगमन कम भइरहेको छ”, उनले भने, “झरनाको आकर्षण बढाउन, पोखरी र बाटोको संरचना निर्माणका लागि नगरपालिकाबाट आवश्यक बजेटको व्यवस्थापन भइसकेकाले अब छिट्टै बन्ने अवस्थामा छ ।” पर्यकीयस्थलको संरचनामा क्षति पुगेपछि व्यवसायमा समेत असर परेको उनले बताए ।

खारखोलाका स्थानीयवासी मैयाँ हमालले झरनाको पोखरी र त्यहाँ जाने बाटो नै बाढीले बगाएपछि आफ्नो पसल अगाडि सडक मर्मत गर्दा बनेको खोलाको पोखरीसम्म आएर पौडी खेलेर फर्कने गरेको बताए। बाढीले धेरै क्षति पुर्‍याएको यस ठाउँमा स्थानीय सरकारले समयमा नै संरचना पुनर्निर्माण नगर्दा व्यवसायमा मन्दी आउनुका साथै स्थानीय कृषि उत्पादन वस्तु बिक्री गर्न नपाएको स्थानीयको गुनासो छ ।

पनौती नगरपालिका–१२ का वडाध्यक्ष जयराम केसी खत्रीले बाढीले क्षति पुर्‍याएको झरनाको पोखरी बनाउनको लागि यस आर्थिक वर्षमा रु पाँच लाख बजेट व्यवस्थापन भइसकेको बताए। “अब झरनाको पोखरी र त्यहाँसम्म जाने बाटो व्यवस्थित बनाउनको लागि नगर र वडाले योजना बनाइसकेको छ,” उनले भने ।

हरियाली वनजङ्गलको फेदमा लेकबाट आएको चिसो र कञ्चन पानीको झरनामा रुझ्दै पौडी खेल्ने र आराम गरी मनोरञ्जन लिने पोखरी र त्यहाँसम्म जाने बाटोको संरचना नै बगाएपछि त्यहाँको आकर्षण गुमेको छ । विशेष गरेर गर्मीयाममा घुइँचो लाग्ने गरेको सो ठाउँमा शनिबार र बिदाका दिन घुम्न जानेहरूको गन्तव्यस्थल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *