-नारायण गाउँले
अमेरिका त्यसै अमेरिका भएको होइन । विचारदेखि उत्पादनसम्म राज्यको नियन्त्रणमा रहनुपर्छ भन्ने कडा कम्युनिष्ट स्कुलिङ्को व्यक्ति पनि आज उदार विश्व, वैचारिक स्वतन्त्रता, खुला बजार र ‘फ्री इकोनोमी’को महत्त्व बुझाउँदै पूँजीवादी उत्पादन ‘फेसबुक’को पक्षमा उभियो । आज फेसबुक ‘वैचारिक स्वतन्त्रता’को पर्यायजस्तै भएको छ । साम्राज्यवाद, सर्वसत्तावाद, पूँजीवाद, दलाल नोकरशाही जस्ता गह्रुँगा र आफैंले अर्थ नबुझ्ने शब्द प्रयोग गरेर यसैलाई गाली गर्दा पनि यसबाट मान्छेले कमाइ गरिरहेका छन् । सूचना र विचार निर्माणमाथि फेसबुक, एक्सजस्ता प्लेटफर्मको एकछत्र राजमाथि चिन्ता र चासो पनि यिनै प्लेटफर्ममार्फत व्यक्त भइरहेको छ ।
एक पैसा खर्च नगरी आज फेसबुकले आफ्नो पक्षमा उभिइदिने सेना पाएको छ । देशले बारम्बार दर्ता हुन आह्वान गर्दा पनि दर्ता हुन नआएपछि प्लेटफर्म नै बन्द गर्ने निर्णयका विरुद्ध फेसबुक बोल्न पर्दैन । हामी बोलिरहेका छौँ । देशको निर्णयविरुद्ध बहुराष्ट्रिय कम्पनीको पक्षमा सिङ्गो जनसङ्ख्या बोल्ने स्थिति भनेको असामान्य स्थिति हो । अमेरिकी उत्पादन फेसबुकमा अमेरिकालाई नै गाली गरेर भिडियो हाल्दा पनि कमाइन्छ । यही हो वैचारिक स्वतन्त्रता । अमेरिकी कम्पनी फेसबुकको शेयर चीन या भारतमा बसेर समेत किन्न पाइन्छ, यसले गर्ने नाफा भाग लगाउन पाइन्छ र यससँगै ‘ग्रो’ हुन पाइन्छ । यही खुला बजार हो ! पूँजीवादविरुद्धको सङ्गठन र विचार पनि यही पूँजीवादी उत्पादनको सहाराले फैलाउन पाइन्छ, यही हो उदार विश्व । हामीले निर्माण गरेको भए या त ओलीलाई प्रसंशा गर्न पाइन्थ्यो, या गाली । दुबै अटाउने हाम्रो सोच अझै बन्न बाँकी छ । चिनियाँ सोसल मिडिया वी च्याटमा चीनका कमजोरीबारे बहस गर्न मिल्छ कि मिल्दैन थाहा भएन, तर फेसबुकमा अमेरिकाको विपक्षमा लेख्न, बोल्न र बहस गर्न मिल्छ । रसियामा चल्ने सोसल मिडियामा पुटिन या युद्धको विपक्षमा बोल्न सकिन्न तर ट्विटर या फेसबुकमा डोनाल्ड ट्रम्पको मानसिक स्वास्थ्यबारे पनि धारणा राख्न पाइन्छ ।
आज आफ्नै देशको निर्णयविरुद्ध फेसबुकको पक्षमा उभिनु भनेको खुला विश्व र उदार प्रजातान्त्रिक मूल्यमान्यताको पक्षमा उभिनु हो । राज्यका आदेशभन्दा वैचारिक स्वतन्त्रता ठूलो हो भन्ने मान्यता बोक्नु हो । एउटा विदेशी कम्पनी देशमा दर्ता गर र चलाऊ भन्ने सरकारको निर्णय गलत होइन, तर दर्ता नभए पनि यसले ‘फ्री वल्र्ड’ र प्रजातान्त्रिक मूल्यका पक्षमा दिएको योगदान र महत्त्वलाई आत्मसात् गर्दै बन्द हुनुहुँदैन भन्नु पनि गलत होइन ।
हामी पढाइमा सबैभन्दा अब्बल भयौँ भने जागीर खानेबारे सोच्छौँ । त्यो पनि सरकारी जागीर, जहाँ के गर्ने र कसरी गर्ने भन्ने पूर्वनिश्चित फ्रेमवर्क छ । न त्यहाँ कुनै ग्रोथ छ न नवप्रवर्तन । मध्यम स्तरको या ब्याकग्राउण्ड नै त्यस्तै भएकाले मात्रै व्यापार या व्यवसाय गर्ने राष्ट्रिय मानसिकता छ । एउटा व्यवसाय खोले पनि हाम्रो मनमा त्यसको मार्केट सानो हुन्छ । सिङ्गो विश्व नै बजार बन्न सक्ने गरी सोच्न सक्दैनौँ । अमेरिका भिन्न छ । त्यहाँ आज पनि एउटा स्टार्टअप खुल्दै गर्दा त्यसले टोटल एड्रेसेबल मार्केट (TTM) सिङ्गो विश्वलाई देखिरहेको हुन्छ । तपाईंलाई थाहा छैन, तर आज तपाईंलाई सम्भावित ग्राहक मानेर अमेरिकामा सयौं उत्पादन सुरु भइरहेका छन् । हुनेछन् ।
फेसबुक, ट्विटर (एक्स), गुगल, एन्ड्रोइड, माइक्रोसफ्ट जस्ता उत्पादन हरेक घरमा पुगेका छन् । ती बन्द हुँदा कहिल्यै अमेरिका नसुनेको मान्छेको जीवन पनि प्रभावित हुन्छ । हामी कम्पनी खोल्नेबित्तिकै कमाउनेबारे सोच्छौं, यी विशाल कम्पनी दशौं वर्षसम्म घाटामा चल्छन्, ऋण उठाएर, लगानी बढाएर एउटा ठूलो स्केलमा पुग्ने सपना बोक्छन् । कति त कहिल्यै नाफामूलक हुन नसकी समाप्त पनि हुन्छन् । ती नाफामूलक नबन्दासम्म, अडिने ग्यारेन्टी नहुँदासम्म ठूला लगानीकर्ताले रिस्क लिन्छन् । जब कम्पनी नाफामूलक हुन्छ, सर्वसाधारणले त्यसको शेयर किनेर सँगै कमाइ गर्ने अवस्था बन्छ । भए जतिका प्रोडक्ट सित्तैमा बेचेर पनि विश्वकै धेरै कमाइ गर्न सक्ने कम्पनी सानो सोचले बन्दैन । गुगलको कुनै प्रोडक्ट नकिनी सित्तैमा चलाउने अर्ब बढी मान्छे छन् । गुगल म्यापको पैसा कसले तिर्दो होला । फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप सबै फ्री छ । अझ फेसबुक प्रयोग गर्दा पनि उल्टो पैसा आउँछ । त्यत्रो कमाइ कसरी हुन्छ होला ? आजको व्यापार वस्तु होइन, सोच हो । कल्पना हो ।
अमेरिकालाई चरम पूँजीवादी देश भनिन्छ । हाम्रो बुझाइ अनुसार पूँजीवाद भनेको गरीबलाई शोषण र धनीलाई पोषण हो । तर आज हातमा जम्मा एउटा सूटकेस बोकेर अमेरिका छिरेको गरिब व्यक्तिले केही वर्षमा आफ्नो घर बनाउन सक्छ, विश्वको अर्को कुनामा लिइएको ऋण तिर्न सक्छ, कार चढ्न सक्छ, व्यवसाय सुरु गर्न सक्छ या चाह्यो भने नेता बन्न पनि सक्छ । क्षमता र योग्यता हुने हो भने त उसले हामीले सोच्न सक्ने भन्दा धेरै बढ़ी गर्न सक्छ । त्यहाँ न्यूनतम तलब तोकिएको छ, जसले खान, बस्न र रमाउन पुग्छ । कसले कसलाई शोषण गरेको हो, भन्न गाह्रो छ । पूँजी, नाफा, व्यवसाय, व्यापार र ग्रोथलाई हामीले गलत बुझ्दै आएकाले हामी जागिरे मानसिकताको दास भएका हौँ कि जस्तो पनि लाग्छ ।
फेसबुक एउटा उत्पादन होला, कम्पनी होला तर यो एउटा जीवनशैली र खुला विचारको उपकरण बनिसकेको छ । यो भूगोल या कुनै एउटा वादको सीमावाट माथि उठिसकेको छ । यसले राष्ट्रियतामा पुर्याएको या पुर्याउन सक्ने ठोस हानि र तथ्य प्रस्तुत नगरी ईगोकै आधारमा बन्द गर्ने निर्णयले राष्ट्रियता बढ्दैन । फेसबुकको पक्षमा उभिनु देशको विपक्षमा उभिनु होइन । दर्ता नहुँदा देशलाई खास हानि नदेखेर, तर यो प्लेटफर्म बन्द हुँदा प्रजातान्त्रिक मूल्यमा हानि पुग्ने देखेर मात्रै आफ्नै देशको निर्णयविरुद्ध उभिएको हो । सरकारको नियत पनि बन्द गर्ने पक्कै नहोला । देशको राजनीतिदेखि सामाजिक बहससम्म प्रभावित गर्न सक्ने बहुराष्ट्रिय कम्पनी दर्तासम्म पनि नहुनु पनि आफैमा राम्रो होइन ।
यिनले नियमानुसार देशलाई कर तिर्छन् । लाखौं प्रयोगकर्ता र क्रिएटरलाई आफ्नो कला, क्षमता र समय बेचेर आर्थिक, सामाजिक उन्नतिको अवसर दिन्छन् । स्वतन्त्रता, सुशासन र सूचनाजस्ता प्रजातान्त्रिक मूल्य र मान्यतालाई मलजल गर्छन् र सबैलाई ग्रो गर्ने निष्पक्ष मञ्च दिन्छन् भने एउटा दर्ता जस्तो प्राविधिक विषयलाई हतियार बनाएर यिनलाई बन्द गर्दा देश र जनतालाई नै नोक्सान पुग्छ भन्ने भाष्य हो ।
तर देशको दर्ता गर भन्ने निर्णय पनि आफैमा गलत थिएन । नभनी, अलिकति बल नगरी दर्ता हुने स्थिति पनि थिएन । बन्द गर्ने यो निर्णयका पछाडि सर्वोच्च अदालतको आदेश पनि मिसिएकाले पक्कै कम्पनीहरूले यसलाई सिरियसली लिनेछन् । फेसबुकले दर्ताका लागि चासो देखाएको खबरले पनि यसको पुष्टि गर्छ । हामी अधिकांश नागरिक सरकारको बन्द गर्ने निर्णयको विपक्षमा थियौं र छौं । सरकार अपजस बोक्न तयार थियो । यदि फेसबुक र अन्य सोसल मिडिया दर्ता हुन आए र फेसबुक बन्द भएन भने यसको जस पनि सरकारलाई नै दिन पर्ने हुन्छ । यस्तो होस् र हामी सबैको जित होस् !