पोखरा । वात्सल्य एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण आजबाट पोखरामा शुरू हुँदैछ । पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्ड हालमा हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
यसअघि काठमाडौंमा सम्पन्न पहिलो संस्करणको उपाधि कर्णाली यश्विसले जितेको थियो । आज हुने उद्धाटन खेलमापनि साविक विजेता कर्णालीले घरेलु टोली पोखरा निन्जाजको सामना गर्दैछ । साविक विजेता कर्णालीलाई उपाधि रक्षा गर्ने चुनौती रहेको छ भने पोखरालाई पोखरेली दर्शकमाझ घरेलु कभर्ड हालमा उपाधि जित्ने अवसर रहेको छ ।
पोखराले पहिलोपटक प्रतियोगितामा सहभागी जनाउन लागेको हो । यसअघि पहिलो संस्करण खेलेका चितवन शक्ति र गण्डकी थन्डर्सको स्थानमा लुम्बिनी लाभाज र पोखरा निन्जाजले लिगमा स्थान पाएका हुन् । नेपाली महिला भालिबलको इतिहासमै पहिलोपटक अक्सनमार्फत खेलाडी छनोट गरिएको थियो । यस्तै फ्रेन्चाइज टोलीहरुले ब्राजिल, नेदरल्याण्ड्स, अमेरिका, रसिया लगायतका देशबाट विदेशी खेलाडी अनुबन्ध गरेका छन् ।
पहिलो संस्करणमा उल्लेखनीय चर्चा कमाएको लिगले यसपटक भलिबलको हब मानिने पोखरामा पोखरेली दर्शकको थप साथ पाउने अपेक्षा गरिएको थियो । पोखरामा हरेक वर्ष टाइगर कप लगायत अन्य विभिन्न चर्चित भलिबल प्रतियोगिता आयोजना हुँदै आएको छ ।
लिगमा कर्णाली र पोखरासहित ललितपुर क्विन्स, मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स र लुम्बिनी लाभासले प्रतिस्पर्धा गर्दैछन् । पोखराको मार्की खेलाडीमा प्रगति नाथ, कर्णालीको सुमित्रा रेग्मी, ललितपुरको सलिना श्रेष्ठ, मधेशको निरुता ठगुन्ना, काठमाडौंको उषा भण्डारी र लुम्बिनीको अरुण शाही रहेका छन् । प्रगति बाहेक अन्य सबै खेलाडी पहिलो संस्करणमापनि मार्की खेलाडी रहेका थिए ।
भदौ २८ सम्म चल्ने प्रतियोगितामा कुल १५ खेल हुनेछ । लिग चरणको खेलबाट शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल खेल्नेछन् ।