नेकपा एमालेको विधान महाधिवेशन आजदेखि सुरु हुँदै, दुई हजार २६ जना प्रतिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दोस्रो विधान महाविधेशन आजदेखि सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । कार्यतालिकाअनुसार ४० मिनेटको उद्घाटन सत्रपछि महाधिवेशन दस्तावेज प्रस्तुतिकरणमा केन्द्रित हुनेछ ।

महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यतै महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापाको असहमति दस्तावेज पनि प्रस्तुत गरिने निर्णय गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए । नेता थापाले बिहीबार पार्टी कार्यालयमा फरक मतको दस्तावेज दर्ता गराएका छन् ।

त्यसैगरी महाधिवेशनमा केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको एमाले उपमहासचिव ज्ञवालीले बताए ।

उनले महाधिवेशनको दोस्रो दिन भदौ २१ गते प्रस्तुत गरिएको दस्तावेजको १० वटा समूह बनाई छलफल गर्ने जानकारी दिए । उनका अनुसार भदौ २२ गते समूहबाट आएका सुझावलाई प्रस्तुतिकरण गर्ने र सुझावमाथि प्रतिउत्तर दिने कार्यतालिका छ ।
यस्तै सोही दिन नै केन्द्रीय निर्वाचन आयोगका निर्वाचन गर्ने र समसामयिक प्रस्तावसहित महाधिवेशनको समापन गर्ने कार्यतालिका रहेको उनले जानकारी दिए ।

महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल दुई हजार ३४१ जनाको सहभागी हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *