-डा. युवराज संग्रौला ।
सांघाई सहयोग संगठनको सम्मेलन सकियो, र यसले एउटा नयाँ अन्तर्राष्ट्रिय सम्बन्ध विकासको पहल शुरु भएको आभाष दियो । अब समग्र दक्षिण पश्चिमको निगाह र प्रभुत्वबाट मुक्त हुन चाहन्छ भन्ने सन्देश नै यो सम्मेलनको सबैभन्दा ठूलो उपलब्धि हो । सम्मेलनले उर्जा, डिजिटल प्रविधिमा आधारित अर्थतन्त्र र शिक्षा यस संगठनका परस्पर सहयोगका प्राथमिक क्षेत्र घोषणा गरेको छ र बहुध्रुवियता अब गफ मात्र होइन यथार्थ भएको छ । त्यसैगरि उच्च शिक्षा र रोजगारमूलक शिक्षामा आपसी सहयोग घनिभूत पार्ने अठोट पनि घोषणा गरियो जसले समग्र दक्षिणको ध्रुवीकरणलाई अझ खँदिलो बनाएको छ । तर, यी बाहेक चीनका अरु केही महत्त्वपूर्ण प्रस्तावहरु आए, जसले विश्वको राजनीति र आर्थिक मानचित्रमामा अब समग्र दक्षिणको नेतृत्व स्थापित हुने सम्भावना अगाडी आएको देखिन्छ।
१. निष्पक्षता र स्वछतामा आधारित विश्व शासन व्यवस्था निर्माणको आह्वानबाट अब कसैको प्रभुत्व स्वीकार हुन्न भन्ने सन्देश यस सम्मेलनले दिएको छ। चीनले आगामी दिनमा यो क्षेत्रमा सक्रियता देखाउने चाहना राखेको स्पस्ट हुन्छ, स्वच्छ विश्व शासन व्यवस्था, सभ्यताहरुको बिचमा परस्पर सहयोग र आर्थिक बिकासमा परस्पर सहयोगका तीन नयाँ शुरुवातप्रति चीनले अगुवाइ गर्ने आँट अगाडी सारेको छ जसको अन्तर्निहित उद्देश्य शान्तिको पक्षमा अन्तर्रास्ट्रिय सहयोगलाई केन्द्रित गर्ने चाहना नै हो । अर्थात् अब कसैको प्रभुत्वलाई विश्वले स्वीकार गर्ने छैन भन्ने सन्देश सम्मेलनले दिएको छ।
२. बहुध्रुवियता, सभ्यताको समान पहिचान र महत्त्वलाई स्थान दिने कुरा, विकासमा साझेदारी र शान्तिको संरक्षण पनि उतिकै प्राथमिकताका साथ उठेका छन् । यो सम्मेलनले एक पटक तेस्रो विश्व भनेर चिनिएका देशहरूले उपनिवेशवादका थोत्रा थाङ्ना थुङ्नी छोडेर, नवउपनिवेशवादको चुनौतीलाई पनि सामना गर्न सक्ने अवस्था आउन सक्ने आशा गर्न सक्छन् । यो सम्मेलन र चीनले मनाएको फासिवाद बिरोधी ८० वर्षको महोत्सवलाई जोडेर हेर्ने हो भने, शान्तिको पक्षमा चीनले आफ्नो प्रतिवद्धता जनाएको छ । सांघाई सहयोग संगठनले प्राथमिकता तोकेका माथि उल्लेखित क्षेत्रमा १ अर्ब युवानको सहयोग घोषणा गर्नुका अतिरिक्त सांघाई सहयोग संगठन बैंकको स्थापना गर्ने घोषणा अत्यन्त महत्वपूर्ण रहेका छन् । संयुक्त राष्ट्रसंघका विकास कार्यक्रममार्फत विकासका कार्यक्रम संचालन गर्न चीनले अर्को १० अर्ब युवान घोषणा गरेको छ।
नेपालले यो संगठनको सहयोगको लाभ लिन सक्छ, खासगरि नेपालमा रोजगारमूलक शिक्षाको विकासका लागि ।
नेपालले चीनको फासिवाद विरोधी महोत्सवमा भाग लिएर चिनियाँ जनताले भोगेको कठोर पीडामा आफ्नो मानवीय अनुभूति प्रकट गरेको छ। करीब ३ करोड चिनियाँ जनताले फासिवादी जापानी साम्राज्यवादको अत्याचारबाट ज्यान गुमाएका थिए र दोस्रो विश्वयुद्धमा शान्तिको पक्षमा चिनियाँ जनताको त्याग र पीडाप्रति युरोपेली इतिहास लेखकहरुले अन्याय गरेकै हो । यथार्थमा पहिलो विश्वयुद्ध १९३९ मा होइन, १९३१ मै शुरु भएको थियो, जब जापानले चीनको मन्चुरियामा आक्रमण गर्यो, तीव्र गतिले उत्तरपश्चिम चीनमा युद्धको विस्तार गर्यो । सांघाईमा गरेको घातक अमानवीय बमबारी, नान्जिङ्गको आमहत्या जस्ता घटना जर्मनीले युरोप र रसियामा गरेका आक्रमण भन्दा कम थिएनन् । तर इतिहासले यी घटनालाई बिर्सियो र यो महोत्सवले इतिहासको पुनर्लेखन गरेको छ ।
चिनियाँ जनता आफूमाथि पश्चिमी देशहरूले गरेका अपमान र जापानी आक्रमणको पीडालाई सम्झना गर्ने र आफ्नो स्वाभिमानको जग बलियो बनाउन आफ्नो सभ्यतामाथि गौरव गर्न सक्ने ठाउँमा पुगेका छन् । आर्थिक समृद्धिले नै सम्मान पनि कायम गर्ने रहेछ र अन्त्तत बिकास रास्ट्रीय स्वार्थ, नागरिक सर्वोच्चता र सभ्यताको गौरवसँग जोडिएको हुँदोरहेछ भन्ने तथ्य चीनले देखाएको छ । त्यसैले राजनीति विचारबाट निर्देशित भएन भने रोग बन्दो रहेछ भन्ने कुरा दक्षिणका देशहरुमा पलाएको चेतनाले स्पष्ट पारेको छ।