काठमाडौं । पोखरामा यही भदौ २० गतेदेखि सञ्चालन हुने दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (इडब्लूभी)को ट्रफी सार्वजनिक गरिएको छ ।देशको पर्यटकीय राजधानी पोखरास्थित फेवाताल किनारस्थित बाराहीघाटमा बुधबार एक कार्यक्रम आयोजना गरी ट्रफी सार्वजनिक गरिएको हो ।
इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा हुने लिग भदौ २८ सम्म चल्नेछ ।
ट्रफी अनावरण गर्दै पोखरा महानगर प्रमुख धनराज आचार्यले पोखरा भ्रमण वर्ष २०२५ का सन्दर्भमा भलिबलको प्रतिष्ठित प्रतियोगिता आयोजना हुनु निकै महत्त्वपूर्ण हुने बताए ।
उनले भने, “पर्यटकीय राजधानी पोखरा खेल पर्यटनको पनि हब सिटी हो । यसले पोखराको पर्यटनलाई थप उचाइमा पुर्याउन र महिला भलिबल हेर्ने पोखरेली दर्शकको चाहानालाई पूरा गर्नेछ ।”
प्रतियोगितामा ६ फ्रेञ्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा घरेलु टोली पोखरा निन्जाजसहित काठमाडौं स्पाइकर्स, ललितपुर क्विन्स, कर्णाली यसबिस, मधेस युनाइेटेड र लुम्बिनी लाभाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको उद्घाटनपूर्व बिहीबार साँझ पोखराको लेकसाइडमा नगर प्रमुख नेतृत्वको ‘टिम धनराज’ र महानायक राजेश हमाल नेतृत्वको ‘टिम राजेश’का बीचमा मैत्रीपूर्ण भलिबल खेल हुनेछ ।