भक्तपुर । इन्द्रजात्राका अवसरमा मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३८ वर्षीय वीरेन्द्रभक्त गजु श्रेष्ठ यस वर्ष चौथो पटक जिब्रो छेडेर भक्तपुरको दत्तात्रय र नवदुर्गा मन्दिर पुगेर फर्कने भएका छन् ।
इन्द्रजात्राको भोलिपल्ट भाद्र शुक्ल पूर्णिमाको साँझ अर्थात् भदौ २२ गते आइतबार साँझ ७ बजे जिब्रो छेडेका श्रेष्ठ महाद्विप (भेय्) बोकेर खाली खुट्टा भक्तपुरको नवदुर्गा र दतात्रय दर्शनको लागि जाने आज मध्यपुरथिमि नगरपालिकाले अयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
नेपाल संवत् तिथिबमोजिम ञंलाथ्व पुन्हि अर्थात् इन्द्रजात्राको भोलिपल्ट हजारौँको सङ्ख्यामा उपस्थित भीडबीचमा कर्मी नाइकेले करिब १० इञ्च लामो सुइरोले श्रेष्ठको जिब्रो छेडाएर भक्तपुर परिक्रमा गर्ने भएका हुन् ।
नगर प्रमुख सुरेन्द्र श्रेष्ठले ‘आइतबार दिगुटोलस्थित प्रचण्ड भैरव अघिल्तिरको डबलीमा जिब्रो छेड्ने जात्राको विभिन्न सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गर्ने बताए ।
भीड कम गर्न दुई पोखरी र बालकुमारी मन्दिरमा ठूला दुई वटा एलइडी राखेर प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था गरेको बताउँदै उनले जात्राको भक्तपुर पुग्दा नगरपालिकाले स्वागत गर्ने तयारी गरेको जानकारी दिए । नगर प्रमुख श्रेष्ठले जात्राबाट देशविदेशको पर्यटकको आगमन गर्ने र पर्यटनको विकास गर्न टेवा पु¥याउने बताए ।
पत्रकार सम्मेलनमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले जात्राको सुरक्षाका लागि जिल्ला सुरक्षा संयन्त्रको बैठक बसेर सुरक्षाको व्यवस्था मजबुद गर्ने बताउँदै जात्रालाई स्थानीय परम्पराअनुसार सम्पन्न गर्न प्रशासनले सहयोग गर्ने बताए ।
नगरपालिकाका उपप्रमुख विजय श्रेष्ठले मध्यपुरथिमिवासीले रोग, भोग, सङ्कटको सामना गर्न नपर्ने जनविश्वास रहँदै आएको यो जात्रा सयौँ वर्ष अगाडिदेखि चल्दै आएको र बीचमा रोकिएको भए पनि अहिले निरन्तरता पाउँदा यहाँको पहिचान विश्वभर फैलिएको बताए ।
जिब्रो छेड्ने तयारी गरेका वीरेन्द्रभक्तले यसअघि पहिलो पटक २०७४ सालमा, त्यसपछि २०७९ र २०८१ मा पनि जिब्रो छेडाए । यसवर्ष जिब्रो छेडाएर ‘भ्ये’ बोकेर खाली खुट्टा हिँडेरै भक्तपुर नगरको नवदुर्गा र दत्तात्रय दर्शन गर्न जाने उनले बताए।
गतवर्ष खाली खुट्टा नै पशुपतिनाथका मन्दिरसम्म २८ किलोमिटर सडक ओहोरदोहोर गरेको बताउँदै उनले यसवर्ष पनि भक्तपुर पुगेर फर्कंदा करिब १३ किलोमिटर यात्रा गरिने बताए।
जिब्रो छेड्ने व्यक्तिको इच्छाअनुसार पशुपति मन्दिर, चाँगुनारायण मन्दिर, भक्तपुरका विभिन्न मन्दिर, स्वयम्भू, नमोबुद्धसम्म जिब्रो छेडेर पुर्खाहरू पुगेको इतिहास रहेको बताउँदै यसवर्ष छलफल र जिब्रो छेड्नेको चाहनाअनुसार नवदुर्गा र दत्तात्रयको दर्शनसमेत गर्नेगरी जात्रा लैजान लागेको हो ।
येँयाः पुन्हिया लसताय् म्येम्वाः खानेगु जात्रा व्यवस्थापन समितिले आयोजना गर्ने जात्रामा मध्यपुरथिमि नगरपालिकाले तीन लाख, बागमती प्रदेशका पर्यटनमन्त्री सुरेश श्रेष्ठले रु दुई लाख सहयोग गर्ने र बाँकी नपुग रकम समितिले स्थानीयको सहयोगमा सम्पन्न गर्नेगरी तयारी गरेको व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।
जात्रा दिगुटोलबाट सुरुभई बालकुमारी मन्दिर, तछुटोल, विष्णुवीर मन्दिर, यमाटोल, मरुटोल, शङ्खधर चोकथिमि, सूर्यविनाक नगरपालिका–४ मा पर्ने दक्षिण बाराही मन्दिर (क्वाछे) हुँदै पुनः शङ्खधर चोक थिमि फर्किनेछ ।
त्यसैगरी शङ्खधर चोकबाट मुख्य सडक हुँदै राधेराधे, सल्लाघारी, भक्तपुर नगरपालिका क्षेत्र प्रवेश गर्दै चोङा गणेश, सिद्ध पोखरी, नः पुखु, दरबार स्क्वायर, पाँचतले मन्दिर, सुकुलढोका, दत्तात्रय मन्दिर, क्वाठण्डाँै, नवदुर्गा मन्दिर (द्यो छें), साक्वःलान रुट हुँदै पुनः पाँचतले मन्दिर फर्कनेछ ।
त्यसपछि बंशगोपाल, सिद्धपोखरी, सल्लाघारी चोङ्गा गणेश मध्यपुरथिमिको निकोसेरा, नगरपालिका चोक, पाटी विहार, गुङ चिवा, भिमसेन चोक, गणेश स्कुल, नगदेश, सिद्दी गणेश मन्दिर, गार्चा चोक, सिद्धिकाली चोक, सिद्धिकाली मन्दिर, भुलाँखेल, चोडे, दुई पोखरी हँुदै बालकुमारी मन्दिर पुगेर जिब्रोबाट सियो निकालेर जात्रा विसर्जन गरिने भएको छ ।
यो जात्रा यसअघि गत दुई वर्ष जात्रा पशुपतिनाथको मन्दिर पुगेर फर्किएको थियो । बिचबिचमा चल्दै रोकिँदै आएको यो जात्रा २०६३ सालदेखि निरन्तर रोक्दै पुनः २०७४ मा वीरेद्रभक्तकै अगुवाइमा सुरु भएको थियो । त्यसयता उनले २०७९ र २०८१ सालमा पनि जिब्रो छेडेर जात्रा चलाएका थिए ।
विसं २०७५ मा बालकराम श्रेष्ठले एकपटक जिब्रो छेडाएको र कोरोना महामारीले रोकिएको यो जात्रा २०७९ मा वीरेंद्रभक्तले पुनः जात्रालाई निरन्तरता दिएका थिए । मध्यपुरथिमिका कृष्ण नानिचा श्रेष्ठले २०५२, ०५७ र ०६३ मा जिब्रो छेडाउन भएको थियो ।
किंवदन्तीअनुसार प्राचीनकालमा थिमिमा भूतप्रेत र पिसाचको आतङ्क मच्चाएर जथाभावी मानिस मार्ने गरेपछि यसलाई नियन्त्रण गर्न एक जनाको जिब्रो छेडी नगर परिक्रमा गराइएको र त्यसपछि भूत, प्रेत, पिसाच भागेर शान्ति स्थापना भएको भनाइ छ ।