बीबीसी । चीनका राष्ट्रपति सी जिनपिङले चीन धाकधम्की दिनेहरूसँग कहिल्यै नडराउने र सधैँ अगाडि बढ्ने
उद्घोष गरेका छन् । चीनको राजधानी बेइजिङमा भव्य सैन्य परेडलाई सम्बोधन गर्दै राष्ट्रपति सीले मानव सभ्यता जोगाउन चिनियाँ जनताले गरेको विशाल राष्ट्रिय बलिदान’ गरेको बताए ।
उनले भने, ‘इतिहासले हामीलाई मानवता एकसाथ उत्थान र पतन हुने कुरामा सजग गराउँछ । चीन कहिल्यै पनि कुनै पनि धम्कीबाट डराउँदैन र सधैँ अगाडि बढ्छ।’
उनले सबै जातीय समूहका चिनियाँ जनता“लाई चिनियाँ कम्युनिस्ट पार्टीको अनुसरण गर्न आग्रह गरे । ‘हामी चिनियाँ विशेषतायुक्त समाजवादको बाटोमा दृढतापूर्वक रहनुपर्छ। हामी उद्यम र सङ्कल्पका साथ अघि बढ्नुपर्छ,’ उनले भने ।
समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जङ–अनसहित २६ देशका नेताहरू सहभागी भएका थिए ।
सी, पुटिन र किम सँगसँगै एउटै कार्यक्रममा उपस्थित भएको यो पहिलो अवसर हो । चीनले विशाल सैन्य परेडमा पहिलो पटक नयाँ अस्त्रहरूमा लेजर हतियार, परमाणुअस्त्र बोक्न सक्ने बलिस्टिक क्षेप्यास्त्र र पानीमुनि प्रयोग गरिने विशाल ड्रोनहरू प्रदर्शन गरेको छ ।
त्यहाँ चीनले आफूले बनाएको अन्तरमहादेशीय परमाणु बलिस्टिक क्षेप्यास्त्रको नयाँ संस्करण प्रदर्शन गरेको छ । उक्त क्षेप्यास्त्रे १२ वटासम्म युद्धशीर्ष बोक्न सक्छ ।
उक्त क्षेप्यास्त्र अमेरिका र पश्चिम युरोपसम्म प्रहार गर्न सकिने गरी ठूला परमाणुअस्त्र बोक्न सक्षम रहेको सेन्टर फर स्ट्रटजिक एन्ड इन्टरन्याश्नल स्टडीज नामक थिङ्क ट्याङ्कले जनाएको छ ।