-डा. युवराज संग्रौला ।
कालापानी, लिपुलेक, लिम्पियाधुरा विवादास्पद भूमि होइनन् । यी नेपालको सार्वभौम भूमि हुन् । भारतले उसका अभिव्यक्तिबाट भोगाधिकारको दाबी उठाउने सोच राखेको देखिन्छ । त्यसैले भारत ‘ऐतिहासिक तथ्य र प्रमाण’ बाट सिमाना कामय हुन नसक्ने बताइरहेको छ । हामीले उठाउने तर्क त इतिहास नै हो । केही तथ्य हेरौं।
१. सन् १८१६ मा इस्ट ईन्डिया कम्पनीले कुमाउ र गढवाल लुटेको हो । त्यो युद्ध साम्राज्यवादी अतिक्रमण हो किनकी इस्ट ईन्डिया कम्पनी राष्ट्र होइन, यो व्यापारिक निगम थियो । युद्ध राष्ट्रहरुका बीचमा हुन्छ । यो निगम सार्वभौम निकाय थिएन, यद्यपि पैसाको बलमा उसले नेपाली सैनिक र अधिकारीहरूलाई यी दुई क्षेत्र छोड्न बाध्य पार्यो । यही भूमि भारतले छलछामद्वारा प्राप्त गर्यो ।
२. कत्युरी राज्य अंशुवर्माको शासनपूर्वदेखि मल्लपुरी अधिराज्य थियो । मानदेवले आफ्ना मामाको सहयोगले मल्लपुरीको विद्रोह समाप्त गरी नेपालको पहिलो एकीकरण गरेका हुन् । अतः कम्तीमा १७०० वर्षदेखि यो भूमि नेपालको अभिन्न अंग हो । नेपाली भाषाको सबैभन्दा पुरानो शिलालेख पनि गढवालमै प्राप्त भएको कुरा प्राध्यापक मोहन प्रसाद खनालेले लेखेका छन् ।
३. पछि फेरि नेपाल फुट्यो र पृथ्वीनारायणको एकीकरणकै अभियानको शृंखलाका रुपमा यी कुमाउ र गढवाल नेपालमा एकीकृत भए ।
४. सन् १८०१ मा इष्ट इन्डिया कम्पनी, नेपाल र अवधका बीचमा सीमा सन्धि भयो। यी दुई भूमि नेपालका हुन भन्ने इष्ट इन्डिया कम्पनीले मान्यो ।
५. तर सन् १८१६ मा इष्ट इन्डिया कम्पनीले आक्रमण गर्यो । सन् १८१५ मा युवबिराम सन्धी कुमाउको मलौनमा हुँदा, अमर सिंह लगायतका १५० सैनिक काली नदी तरेर दार्चुला प्रवेश गरे । काली भन्दा पूर्व नेपाल भयो । इष्ट इन्डिया कम्पनीले भनेको यही हो ।
६. यो तथ्यले के पुष्टि गर्छ ? काली भन्दा पूर्व भारत छैन । यो भूमि भारतको मौलिक भूमि होइन । बृटिशबाट अपुतालीमा पाएको हो । अतः उसलाई लुटेको भूमिको सिमाना भन्दा पूर्व आउने हक छैन । भारतको यो प्रवृत्ति प्रभुत्वपूर्ण छ। उसले छिमेकीहरुको अस्तित्वलाई सम्मान गर्न जानेन ।
७. चीन र भारतको सम्झौता सीमा सन्धी होइन, व्यापार सम्झौता हो । त्रिदेशिय जंङ्सनबाट व्यापार गर्ने अधिकार तीनै देशको छ, तर सम्झौता तीन देशको हुनुपर्छ। जंङ्सन भन्दा तलको जमिन नेपालको हो आदि कालदेखि । भारतको दाबी त सन १८१६ पछिको मात्र हो, जो लुटेर प्राप्त गर्ने बृटिशको अपुतालीमा पाएको । अतः नेपालले आफ्ना ऐतिहासिक प्रमाणहरुको व्याख्या गर्दै वृहद प्रतिवेदन तयार पार्नुपर्छ ।