लिपुलेक–लिम्पियाधुरा विवाद समाधानको एउटा मार्ग

-केशवप्रसाद भट्टराई ।

नेपालले दावी गरेको तर भारतीय नियन्त्रणमा रहेको लिपुलेक–लिम्पियाधुरा क्षेत्रसँग नेपाल र बङ्गलादेशलाई जोड्ने भारतीय भूमिसँग सट्टी–पट्टी गर्न सकिने कुरा केही राजनीतिक र अन्य क्षेत्रका विज्ञ व्यक्तिहरू गर्नुहुन्छ । तर भारतको लागि अत्यन्त संवेदनशील र चीनको रणनीतिक दृष्टि मुनीको भारत, नेपाल र बङ्गलादेशको वीचको अत्यन्त साँघुरो मार्ग जसलाई चलनचल्तीको भाषामा ‘चिकन नेक’ भनिन्छ –त्यो भूभागसँग त्यस्तो साटासाट गर्न भारत मन्जूर हुनेछैन जस्तो लाग्दछ ।

नेपालले गर्ने भनेको अन्तर्राष्ट्रिय रुपमा समेत मान्य आफ्ना तथ्य र प्रमाणहरूको आधारमा भारतसँगको सघन वार्ता नै हो । यसको लागि नेपालले एक जना अनुभवी कूटनीतिज्ञलाई प्रधानमन्त्रीका विशेष प्रतिनिधिको रुपमा नियुक्त गरेर यो विषयलाई अघि बढाउने जिम्मेवारी दिन सक्छ । परराष्ट्र मन्त्रालयका साविकका संरचनाबाट यो समस्याको समाधान हुन्न ।

त्यसको जानकारी प्रधानमन्त्री ओलीले आफ्नो आगामी भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीलाई दिए पुग्छ । दुई देशका प्रधानमन्त्रीको वीचको वार्तामा टेबुलमा नक्सा र पुराना कागजात फिँजाएर वार्ता गरिन्न । त्यस्तो वार्तामा विवादका विषयलाई राजनीतिक र कूटनीतिक तहमा समाधानका मार्गदर्शक नीतिकाबारेमा सङ्क्षेपमा कुरा उठाउने मात्रै हो, भन्ने लाग्दछ । र यो दशकौँ पुरानो विवादको विषयलाई कुनै प्रधानमन्त्रीको एक दुई दिनको भ्रमणमा टुंगिने विषय होइन –त्यस्तो मान्नु हुन्न ।
प्रधानमन्त्री देशका सर्वोच्च कूटनीतिक प्रतिनिधि हुन् र गम्भीर कूटनीतिक विषयलाई गृह राजनीतिका दलीय लाभहानीका कुरालाई जोड्ने सडकछाप राजनीति अरूले गरेपनि प्रधानमन्त्रीले गर्न हुन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *