मनोहरा खोलाको बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा परेका छन् ।

बाढीको जोखिम बढेपछि मनोहरा खोलाको बहाव फर्काउने काम गरिएको चाँगुनारायण–१ वडाध्यक्ष सिजन कार्कीले जानकारी दिए । लगातार परेको वर्षाका कारण मनोहरा खोलाको बहाब बढेर बस्तीतर्फ आएर बस्ती नै जोखिममा परेपछि बहाव फर्काउने काम गरिएको उनले बताए ।

चाँगुनारायण–१ बेंसी र कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीका समन्वयमा अस्थायी रुपमा खोला फर्काएर बस्ती जोगाउने प्रयास गरिएको हो । उक्त समस्या स्थायी रुपमा समाधान गर्न तीनवटै नगरपालिकाबीच समन्वय गरिने उनले बताए ।

चाँगुनारायणका नगर प्रमुख जीवन खत्रीले मनोहरा करिडोर निर्माण गरी स्थायी समस्या समाधान गर्न बजेट व्यवस्थापनको पहल भइरहेको जानकारी दिए ।

बाढीले चाँगुनारायण–१ दुवाकोटतर्फको जमिन कटान गरेको छ । मनोहरा खोलामा बन्दै गरेको पुलसम्म जाने सडक पनि खोलाले बगाएको छ । बस्ती नजिक खोला आइपुगेपछि स्थानीय त्रसित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *