काठमाडौं । मातृभूमि जागरण अभियान नेपालका संयोजक डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई बालुवाटार भेलामा होच्याउने शब्द प्रयोग गरेको भन्दै आलोचना गरेका छन् ।
ओलीले बालुवाटार भेलामा पूर्वराष्ट्रपतिलाई ‘अनुभवहीन’ र ‘लालगेडी’ जस्ता होच्याउने शब्द प्रयोग गरेको भन्दै आलोचना गरेका हुन् । उनले यसबाट ओलीको तानाशाही चरित्र छर्लंग भएको उल्लेख गरेका छन् ।
रावलले भने, ‘भेलामा आफूलाई पार्टीको अपरिहार्य अध्यक्षको रुपमा प्रस्तुत गर्दै विद्या भण्डारीलाई ‘अनुभवहीन’ र ‘लालगेडी’ जस्ता होच्याउने विशेषण प्रयोग गरी आलोचना गरिएछ । महाधिवेशनमा प्रतिस्पर्धा गरे पराजित हुने घोषणा गरिनुका साथै पार्टीमा अध्यक्ष हुने प्रयास गरिएमा ’भीम रावलको जस्तो हालत हुने धम्की समेत दिइएछ । यसबाट केपी ओलीको असीमित सत्ता लिप्सा, निरङ्कुश र तानाशाही चरित्र पुनः छर्लङ्ग हुँदैन र ?’
रावलले सत्ता स्वार्थको लागि जस्तोसुकै मित्र र पक्षधरमाथि पनि छुरी चलाउन केपी ओली उद्दत हुनसक्ने यथार्थ छर्लङ्ग भएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘मैले जनताको बहुदलीय जनवादको मान्यता अनुरुप दशौं महाधिवेशनमा विधि र प्रणाली अनुसार काम र सबै प्रतिनिधिहरुलाई चाहेको पदमा प्रतिस्पर्धा गर्न दिनुपर्छ भन्ने मान्यतामा दृढतापूर्वक उभिएर अध्यक्ष पदमा उम्मेदवारी दिएको थिएँ । त्यसरी उम्मेदवारी दिएको तथा धारणा र विचार उक्त मान्यता अनुरूप राखेको कारणले नै मलाई कथित स्पष्टीकरण सोधिएको र मैले पार्टीबाट बाहिरिनु परेको तथ्य स्वयं केपीबाट नै बालुवाटारमा स्वीकार गरिएको छ । यसबाट मैले सिद्धान्त, विधि र प्रणालीको पक्षमा उभिएर पार्टी सुमार्गमा जानुपर्छ भन्दा त्यसलाई व्यक्तिगत स्वार्थ र झगडाको रुपमा लिनेहरुले केपी ओलीका उक्त भनाइबाट पार्टी र देशको दीर्घकालीन हितमा केन्द्रित मेरा धारणा, विचार र अडान केपीको असीमित सत्ता लिप्सा र अहमको कारण सह्य र स्वीकार्य नभएको सत्य, तथ्य अब त सबैलाई प्रष्ट भयो होला नि? सत्ता स्वार्थको लागि जस्तोसुकै मित्र र पक्षधर माथि पनि छुरी चलाउन केपी ओली उद्धत हुनसक्ने यथार्थ छर्लङ्ग भयो होला नि ?’