महिला च्याम्पियन्स लिगमा एपीएफको लगातार दोस्रो हार

काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा नेपालको प्रतिनिधित्व गरेको विभागीय टोली नेपाल एपीएफ क्लबले लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार बेलुकी सम्पन्न खेलमा थाइल्याण्डको कलेज अफ एसियन स्कोलर्ससँग ४-० गोलले पराजित भएसँगै एपीएफको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना समाप्त भएको हो ।

मार्काजी स्टेडियममा भएको खेलमा स्कोलर्सको लागि कान्यानत चेत्थाबुत्रले एक्लैले चार गोल गरिन् । खेलको ३४ औँ मिनेटमा कान्यानतले गोल गर्दै स्कोलर्सलाई शुरूवाती अग्रता दिलाएकी थिइन् । इन्जुरी समयको पाँचौ मिनेटमा कान्यानतले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोलर्सलाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाएकी थिइन् ।

५४ औँ मिनेटमा कान्यानतले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेर स्कोलर्सलाई सहज जिततर्फ अगाडि बढाएकी थिइन् । १० मिनेटपछि  कान्यानतले व्यक्तिगत चौथो गोल गर्दै स्कोलर्सलाई ४-० गोलको सहज जित दिलाएकी हुन् ।

जितसँगै स्कोलर्स दुई खेलबाट ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेको छ । दुई खेलबाट अंकविहीन एपीएफ पुछारमा रहेको छ । यसअघि भएको पहिलो खेलमा एपीएफ पीसीएफ नासफसँग ३-० गोलले पराजित भएको थियो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *