काठमाडौँ । प्रतिनिधिसभाले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० यही भदौ १९ पारित गर्ने कार्यतालिका तय गरेको छ ।
सभामुख देवराज घिमिरेले विभिन्न राजनीतिक दलका प्रमुख सचेतकसँग बिहीबार सिंहदरबारमा गरेको छलफलपछि निजामती विधेयक राष्ट्रियसभाबाट आएका खण्डमा यही भदौ १९ गते प्रतिनिधिसभाबाट पारित गर्ने सम्भावित कार्यसूची तय गरिएको हो । प्रशासनिक सङ्घीयता कार्यान्वयनका सम्बन्धमा महत्वपूर्ण मानिएको निजामती विधेयकलाई पारित गर्ने कार्य यस अधिवेशनको महत्वपूर्ण कार्य हो ।
भदौको दोस्रो पाक्षिक कार्यतालिका अनुसार भदौ १८, १९, २५, २६ र २७ गते प्रतिनिधिसभाको बैठक बस्नेछ । त्यसैगरी, भदौ २६ गते विद्यालय शिक्षा विधेयकलाई पारित गर्ने सम्भावित क्यालेन्डर पनि तय भएको छ ।
शुक्रबार बस्ने संसद बैठकले भूमिसम्बन्धी विधेयक पारित गरेर राष्ट्रियसभामा पठाउनेछ भने भदौ १८ गते बस्ने बैठकले नागरिकतासम्बन्धी विधेयक पारित गर्ने कार्यतालिका छ ।
राष्ट्रपति कार्यालयबाट फिर्ता भएको संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची पनि तय भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।