दुबई । युरोपेली राष्ट्रहरूले इरानमाथि संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धहरू पुनः लागू गर्ने प्रक्रिया सुरु गर्ने आशङ्काबीच बिहीबार तेहरानमा रियाल मुद्रा रेकर्ड न्यून स्तरमा झरेको छ । यसले पहिल्यै कमजोर अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ ।
सन् २०१५ को इरान र विश्व शक्तिहरू बीचको आणविक सम्झौतामा समावेश ‘स्न्यापब्याक’ संयन्त्र संयुक्त राष्ट्रसङ्घमा भिटो–प्रुफ हुने गरी बनाइएको थियो । यसले ३० दिनको समयावधिपछि लागू हुने सम्भावना छ ।
यदि कार्यान्वयन गरियो भने, इरानी सम्पत्ति विदेशमा फ्रिज हुनेछ, हतियार सम्झौतामा रोक लाग्नेछ र ब्यालिस्टिक मिसाइल कार्यक्रमसमेत दण्डित हुनेछ ।
तेहरानमा बिहीबार एक डलर बराबर १० लाख रियालमा कारोबार भयो । सन् २०१५ को सम्झौताको समयमा यो दर ३२ हजार रियाल बराबर एक डलर थियो । अप्रिलमा रियाल आफ्नो सबैभन्दा कम विन्दु एक डलर बराबर १० लाख ४३ हजारमा पुगेको थियो ।
फ्रान्स, जर्मनी र बेलायतले अगस्ट ८ मा इजरायलसँगको १२ दिने युद्धको सुरुमा इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को निरीक्षण रोकेपछि स्न्यापब्याक ट्रिगर हुनसक्ने चेतावनी दिएका थिए । त्यसयता इजरायली आक्रमणमा तेहरानका शीर्ष सैन्य नेताहरू मारिए र सर्वोच्च नेता आयातुल्ला अली खामेनी लुकेर बस्न बाध्य भए ।
सुरुवातमा इरानले नयाँ प्रतिबन्धको खतरालाई कम आँकेको थियो । युरोपेली चेतावनीपछि पनि केही समय थोरै मात्र कूटनीतिमा संलग्न भयो ।
तर पछिल्ला दिनहरूमा छिटफुट कूटनीतिक गतिविधिले यसको शासनभित्रको अराजकतालाई उजागर गरिरहेको देखिन्छ ।
विदेशमन्त्री अब्बास अराघचीले गत हप्ता भनेका थिए, “युद्ध हुँदा हामी वार्तामा थियौँ । त्यसैले, वार्ताले मात्रै युद्ध रोक्दैन । कहिलेकाहीँ युद्ध अपरिहार्य हुन्छ र कूटनीतिले मात्र त्यसलाई रोक्न सक्दैन ।”