साउथ अष्ट्रेलियाविरुद्धको दोस्रो खेलमापनि नेपाल पराजित

काठमाडौं ।  अष्ट्रेलिया भ्रमणमा रहेको नेपाल आज साउथ अष्ट्रेलियाविरुद्ध भएको दुवै खेलमा पराजित भएको छ । बिहीबार दिउँसो सम्पन्न दिनको दोस्रो खेलमा नेपाल अष्ट्रेलियासँग ३ रनले पराजित भएको हो ।

जितको लागी १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ५७ रनमात्र बनाउन सक्यो । अन्तिम बलमा चार रनको आवश्यकता रहँदा विकेट गुमाएपछि नेपाल पराजित भएको हो । नेपालको लागि रुपेश सिंहले सर्वाधिक ३७ रन बनाउँदा लोकेश बमले ३२ रनको योगदान गरे ।

यसअघि पहिले ब्याटिङ गरेको साउथ अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६० रन बनाएको थियो । अष्ट्रेलियाको लागि रायन किङले सर्वाधिक ३९ रन बनाए । डानियल ड्रिउ र ह्‍यारी मानेन्तीले २९–२९ रन जोडे ।

नेपालका लागि करण केसी, शाहब आलम र रुपेश सिंहले दुई/दुई विकेट लिँदा कुशल भुर्तेलले एक विकेट लिए ।

यसअघि आजै भएको पहिलो खेलमा पनि नेपाल साउथ अष्ट्रेलियासँगै ३ विकेटले पराजित भएको थियो ।

नेपालले दिएको एक सय ४७ रनको लक्ष्य पछ्याएको साउथ अष्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै पूरा गरेको थियो । साउथ  अष्ट्रेलियाका लागि विन्टरले सर्वाधिक ३६ रन बनाउँदा होगेनबोइजिमले २८, कप्तान हार्वेले २७, ड्रियुले २४ र मनेन्टीले २२ रनको योगदान दिए ।

नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादवले दुई र कप्तान रोहितकुमार पौडेलले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४६ रनको योगफल बनाएको थियो ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ३२ रनको योगदान दिए भने  दीपेन्द्रसिंह ऐरीले २६, आसिफ शेखले २२, आरिफ शेखले २१ र सोमपाल कामीले अविजित १८ रन बनाए ।

साउथ अष्ट्रेलियाका लागि थोम्पसन, ब्राउन र मनेन्टीले समान दुई/दुई विकेट लिए भने म्याकफाडेन र मेन्जिसले समान एक/एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *