अब ठूलो पर्दामा ‘हरिबहादुर’

काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गरेको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ । उनले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गर्नुभएको उक्त पात्रले समाजका विकृति र विसङ्गतिमाथि व्यङ्ग्य प्रहार गर्दै दर्शकको मन जितेको थियो । यो पात्र धेरैका लागि बाल्यकालको अभिन्न हिस्सा बनेको छ । लामो समयदेखि सानो पर्दा र रङ्गमञ्चमा हराइरहेका ‘हरिबहादुर’ नामक पात्रलाई अब दर्शकले ठूलो पर्दा अर्थात् चलचित्रमा देख्न पाउनेछन् ।

गएको वैशाखमा प्रदर्शन भएको चलचित्र ‘भूठान’ मा गम्भीर पात्रमा देखिएका अभिनेता आचार्यले आगामी चलचित्र ‘हरिबहादुरको जुत्ता’ मार्फत दर्शकलाई हँसाउन र मनोरञ्जन प्रदान गर्न ‘हरिबहादुर’ बनेर प्रस्तुत भएका छन् । बुधबार चलचित्रको श्रव्यदृश्य (टिजर) सार्वजनिक गर्दै उनले समसामयिक विषयमा रमाइलो चलचित्र तयार भएको बताए । आचार्यले भने, “भूठान चलचित्रमा काम गरेपछि त्यस्तै किसिमको भूमिका मात्र गर्छ कि भन्ने पनि रहेछ, तर म सबै किसिमको पात्रमा काम गर्न चाहन्छु । ‘हरिबहादुरको जुत्ता’ मा मलाई रमाइलो पात्र निर्वाह गर्दै गरेको देख्न सक्नुहुनेछ ।”

अभिनेता आचार्यले नै पटकथा तथा संवाद लेख्नुभएको चलचित्रको ‘कन्सेप्ट’ का विषयमा चर्चा भएपछि चलचित्रको स्वरूप लिएको रहेछ । “मैले सरोज भाइ (गायक सरोज ओली) लाई चलचित्रको विषय सुनाएको थिएँ, उहाँ नै निर्माणमा अग्रसर भएपछि चलचित्र तयार भएको छ । यसले पर्दामा देखिने पात्रसँग दर्शकलाई जोड्छ भन्नेमा विश्वत छु”, उनले भने ।

अभिनेता आचार्यले उक्त चलचित्र आउँदो दसैँलाई लक्षित गर्दै असोज १३ गते प्रदर्शन हुने जानकारी दिए ।

निर्देशक दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको यस चलचित्रमा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, सीता न्यौपाने, कमलमणि नेपाललगायतका कलाकारले अभिनय गरेका छन् छ ।

गायकद्वय सरोज ओली र मोहितवंश आचार्यले निर्माण गर्नुभएको चलचित्रमा कृष्णबहादुर थापाले छायाङ्कन, नकुल खड्काले सम्पादन, वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतले सङगीत सिर्जना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *