नैरोबी । अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) ले सशस्त्र द्वन्द्व र हिंसाका कारण अफ्रिकामा अहिले ८२ हजारभन्दा बढी व्यक्ति वेपत्ताको सूचीमा रहेको जनाएको छ ।
केन्याको राजधानी नैरोबीबाट जारी विज्ञप्तिमा आईसीआरसीका अफ्रिका क्षेत्रीय निर्देशक प्याट्रिक युसुफले भने, ‘यो आँकडा बेपत्ता भएकाहरूको एउटा सानो अंशमात्र हो ।’
आईसीआरसी र यसको अन्तर्राष्ट्रिय रेडक्रस र रेड क्रिसेन्ट आन्दोलनका साझेदारहरूले सन् २०२४ मा उक्त महादेशमा ७५५ पारिवारिक पुनर्मिलनको सुविधा प्रदान गरेका र पाँच हजार ८३ परिवारहरूलाई प्रियजनहरू कहाँ छन् भन्ने निश्चित समाचार प्रदान गरेका विज्ञप्तिमा उल्लेख छ ।
तर यी सकारात्मक नतिजाका बावजुद आईसीआरसीले अफ्रिकामा हराएका व्यक्तिहरूको सङ्ख्या बढ्दै गएको बताएको छ। परोपकारी संस्थाका अनुसार सुडानमा भएको द्वन्द्व यो वृद्धिको प्रमुख कारण हो र द्वन्द्वका क्रममा हराएका व्यक्ति पत्ता लगाउन सात हजार ७०० भन्दा बढी अनुरोध गरिएको छ ।
आइसिआरसीले भनेको छ, ‘छिमेकी चाड र दक्षिण सुडानबाट आउने अनुरोधहरूको बढ्दो सङ्ख्याका कारण यो आँकडा सन् २०२३ को तुलनामा ५२ प्रतिशतले वृद्धि भएको छ । अफ्रिकी देशहरूमा सुडानबाट भागेर आएका मानिसहरूको सङ्ख्या बढ्दै गएको छ।’
आईसीआरसीले अफ्रिकामा बेपत्ता हुने घटनाको दृश्यता र यस क्षेत्रमा हराएका व्यक्तिहरूको मुद्दालाई रोक्न र प्रतिक्रिया दिन थप अन्तर्राष्ट्रिय प्रयासहरूको लागि आह्वान गरेको छ।
चाडमा दर्ता भएका हराएका व्यक्तिको सङ्ख्या दुई हजार ५७७ पुगेको छ । सन् २०२३ को तुलनामा यो २७५ प्रतिशतको वृद्धि हो । दक्षिण सुडानमा पनि यो अवस्था दोहोरिएको छ ।
दक्षिण सुडानमा वेपत्ता व्यक्तिहरूको सङ्ख्या ७० प्रतिशतले वृद्धि भएको र छ हजार ५९७ जना पुगेको विज्ञप्तिमा उल्लेख छ।
चाड र दक्षिण सुडानमा द्वन्द्व सुरु भएदेखि नै सुडानी शरणार्थीको ओइरो लागेको आइसिआरसीले जनाएको छ ।