कास्की । नारीहरूको महान् पर्व तीजका अवसरमा पोखरामा आयोजना गरिएको ‘लामाचौर कप’ खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि स्याङ्जा पौवैगौडेको ढुङ्गेदेउराली क्लबले जितेको छ ।
नवआदर्श सामुदायिक विकास समाज पोखराको आयोजनामा भएको प्रतियोगिताको मंगलबार भएको फाइनल खेलमा जिएम समाज कावासोतीलाई ३–२ सेटमा पराजित गर्दै ढुङ्गेदेउरालीले उपाधिसहित ट्रफी, मेडल र नगद तीन लाख जितेको हो ।
यसैगरी, उपविजेता जिएम समाजले एक लाख ५० हजार प्राप्त गरेको छ । प्रतिस्पर्धात्मक खेलमा ढुङ्गेदेउरालीले पहिलो सेट २२–२५ ले विपक्षीलाई सुम्पियो । दोस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेकामा तेस्रो सेट पुनः २५–२७ ले जिएम समाजलाई सुम्पियो । चौथो र पाँचौँ सेट भने २६–२४ र १५–१२ ले आफ्नो पक्षमा पार्दै उपाधिमा ढुङ्गेदेउराली कब्जा जमाउन सफल भएको हो ।
पुरुषततर्फ ढुङ्गेदेउरालीका सफल विकले सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै १० हजार पुरस्कार पाए । विधागत पुरस्कारमा ढुङ्गेदेउरालीले नै वर्चस्व जमाएको छ । ‘बेस्ट स्पाइकर’ सञ्जुविक्रम शाह, ‘बेस्ट डिफेन्डर’ राजन दर्लामी, ‘बेस्ट सर्भर’ किसान गुरुङ, ‘इमर्जिङ प्लेयर’ सुगम सुनार र ‘बेस्ट कोच’ विक्रम नेपाली घोषित भएको नेपाल भलिबल सङ्घ केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए ।
यसैगरी, ‘लामाचौर कप’ अन्तरमावि छात्रा भलिबल प्रतियोगिताको उपाधि पोखराको शान्ता माविले जितेको छ । फाइनलमा टप्स माविलाई ३–१ सेटमा पराजित गर्दै उपाधिसहित नगद रु एक लाख जितेको हो । उपविजेता टप्सले रु ५० हजार पुरस्कार प्राप्त गरेको छ ।
टप्सले पहिलो सेट आफ्नो पक्षमा पारेको थियो, तर शान्ताले एकाएक रणनीतिक खेल खेल्दै २२–२५, २५–६, २५–१३ र २५–१४ सेटमा उपाधि जितेको हो ।
‘बेस्ट प्लेयर’ शान्तकी पृथ्वी गाह बनिन् । शान्तकै अपेक्षा विक ‘बेस्ट स्पाइकर’, अस्तर राई ‘बेस्ट सर्भर’, प्रमिला नेपाली ‘बेस्ट ब्लकर’, एलिना गुरुङ ‘बेस्ट लिबेरा’ टप्सकी एलिजा आले ‘बेस्ट सेटर’ घोषित भए ।
नवआदर्शले संस्थाको २९औँ वार्षिक समारोह एवं तीजका अवसरमा २७औँ संस्करणको लामाचौर तीज महोत्सवअन्तर्गत प्रतियोगिता आयोजना गरेको हो । त्यस अवसरमा खेलकुदसहित विविध सांस्कृतिक एवं साङ्गीतिक कार्यक्रम भएको अध्यक्ष दिनेश भण्डारीले जानकारी दिए ।