महिला राष्ट्रिय फूटबल टोलीकी कप्तान साम्बा सम्मानित

दुलेगौंडा (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति वडा नं ४ ले नेपाली राष्ट्रिय महिला फूटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’लाई सम्मान गरेको छ ।

नेपालीहरुको महान पर्व हरितालिका तीजको अवसरमा आयोजना भएको कार्यक्रममा सावित्रालाई समान गरिएको हो । गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित लगायतले उनलाई सम्मान गरेका हुन् । समितिले सावित्राले नेपाली राष्ट्रिय महिला फूटबल टोली र सिंगो राष्ट्रका लागि पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै सावित्राले आफुले खाली खुट्टा मजाको बल खेलेर बाल्यकाल शुरुवात गरेको बताइन् । बालबालिकालाई हौसला दिँदै साम्बाले भनिन्, “अहिले बच्चाहरु जर्सी, खुट्टामा जुत्ता लगाएको देख्छु । मैले खाली खुट्टामा मजाको बल खेलेर बाल्यकालको शुरुवात गरेको थिए । काठमाडौं जाने अघिल्लो दिनसम्मपनि मेरो खुट्टामा जुत्ता थिएन । मैले मजाको बल छोडेर गाउँबाट बिदाई भएर काठमाडौं गएको थिए ।”

यस्तै सावित्राले अभिभावकहरुलाई आफ्नो बालबच्चाको रूचिलाई बुझ्न आग्रह गरिन् । आफ्नो परीवारको साथ नभएको भए आज यो स्थानसम्म आइपुग्न नसक्ने बताउँदै उनले भनिन्, “मैले सानोमा मजाको बल खेल्दा मेरो परिवारको सपोर्ट थियो । समुदायमा विभिन्न किसिमका नकारात्मक तर्कहरु आउन सक्छन् । ती तर्कहरु सुनेर पनि नसुनेको जस्तै गर्दिनुपर्छ । सकारात्मक बाटोमा हिडेको बालबच्चाको हकहित र प्रगतिको लागि उनीहरुको  सपोर्ट गर्नुपर्छ ।”

सन् २०१४ मा राष्ट्रिय टोलीमा डेब्यु गरेकी सावित्राले नेपालबाट ६० खेल खेल्दै ६६ गोल गरिसकेकी छिन् । उनी नेपाली महिला राष्ट्रिय टोलीको सर्वाधिक गोलकर्तापनि हुन् । गत जुलाईमा न्युजिल्यान्डको विलिङटन फोनिक्समा दुई वर्षको लागि अनुबन्ध भएकी सावित्रा एक हप्तापछि त्यसतर्फ प्रस्थान गर्दैछिन् । यसअघि उनले फ्रान्सको एन अभेन्ट गुइनगाम्पबाट दुई सिजन खेल्दै सात गोल गरेकी थिइन् । उनले लिगको अन्तिम खेलमा एस सेन्ट इटिएनेविरुद्ध ह्याट्रिक पूरा गर्दै युरोपेली लिगमा ह्याट्रिक गर्ने पहिलो नेपाली खेलाडी बनेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *