शिक्षा र स्वास्थ्यमा नेपालले फड्को मारेको छ : नेता महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले शिक्षा, स्वास्थ्यलगायतका मुलभूत सेवाका क्षेत्रमा नेपालले पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति हासिल गरेको बताएका छन् ।

आज यहाँ आयोजित मिस एण्ड मिसेस गुरुङ ग्राण्ड फिनाले २०२५ लाई सम्बोधन गर्दै उनले नेपाल समाज रुपान्तरणको महत्त्वपूर्ण चरणमा रहेको र यसले विकासका विभिन्न सूचकहरूमा सकारात्मक सङ्केत दिएको उल्लेख गरे ।

डा महतले विगतमा शिक्षाको पहुँच सीमित रहेको, पढ्न जान्ने र नजान्नेबीच विभेद रहेकामा हाल सुधार भएको बताए । “हिजोका दिनमा स्कुल पढ्न जानु ठूला परिवार वा सहरका केटाकेटीको मात्र अधिकार जस्तो देखिन्थ्यो”, उनले भने, “अहिले त्यो अवस्था परिवर्तन भएको छ । शिक्षामा समावेशिता आएको छ । गाउँगाउँमा विद्यालय पुगेका छन्, छात्रवृत्ति, पोषण, बालमैत्री कार्यक्रमले बालबालिकाको स्कुलप्रतिको उत्साह बढेको छ ।”

कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, मिस एण्ड मिसेस गुरुङ ग्राण्ड फिनाले २०२५ प्रतियोगिता आयोजना गरिएको थियो । यो कार्यक्रम गुरुङ समुदायको कला, संस्कृति, पहिरन तथा परम्परागत सौन्दर्यलाई उजागर गर्न आयोजना गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *