वीरगंज । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नारायणी अस्पतालमा आउने झाडापखाला तथा हैजाका बिरामीलाई निःशुल्क उपचार गर्न निर्देशन दिएका छन् ।
सोमबार वीरगन्जस्थित नारायणी अस्पतालमा आयोजित सरोकारवालाहरूसँगको छलफलमा उनले हैजाका विरामीलाई निःशुल्क उपचार गर्न निर्देशन दिएका हुन् । अस्पताल निरीक्षणका क्रममा मन्त्री पौडेललाई केही बिरामीका कुरुवाले बाहिरबाट औषधि किनेर ल्याउनु परेको गुनासो गरेका थिए ।
उनले प्रकोपका समयमा औषधिको अभाव हुन नदिन तीनै तहको सरकार प्रतिबद्ध रहने भन्दै मन्त्री पौडेलले प्रभावित क्षेत्रका अस्पतालमा जनशक्ति अभाव हुन नदिन पनि आफू लागिपरेको बताए । उनले निजी अस्पतालहरूलाई पनि संकटको समयमा मानवता देखाउन आग्रह गरे ।
मन्त्री पौडेलले भने, ‘उपचारमा कुनै पनि समस्या हुन नदिने प्रयत्न सरकारले गरिरहेको छ। बिरामी वा कुरुवाले कुनै पनि औषधि किन्न नपर्ने र परीक्षणको पनि कुनै शुल्क नलाग्ने अवस्था बनाउनु होला। बिरामीलाई राज्यले दिनुपर्ने सहुलियत दिनु होला।’ उनले निजी अस्पतालहरूमा सरकारले कीट उपलब्ध गराउने निर्णय गरिसकेको जानकारी पनि दिए।