काठमाडौं । निर्देशकद्वय सजन काफ्ले र आकाश बरालले नयाँ फिल्म ‘जिरो डिग्री’ बनाउने भएका छन् । सोमबार एक पोस्टर सार्वजनिक गर्दै मेघौली फिल्मसको ब्यानरमा निर्माण हुने यो फिल्म घोषणा गरिएको हो ।
फिल्मको कथा राजन भुसालले लेखेका हुन् भने पटकथा र संवाद निर्देशकद्वय सजन र आकाशले तयार पारेका छन् । फिल्ममा निर्माण टिमले सडक नपुगेको गाउँमा कुनै व्यक्तिको निधन हुँदा विदेशमा रहेका छोराछोरी आइपुगुन्जेल शव जोगाउन डीप फ्रिज बोकेरै गाउँमा भित्र्याएपछि सिर्जना हुने उथलपुथलमा फिल्म केन्द्रित हुने जनाएको छ ।
फिल्ममा अभिनेता विजय बराल मुख्य भूमिकामा देखिने भएका छन् । फिल्म २०८३ सालमा प्रदर्शन गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ ।