निजी विद्यालय सञ्चालकहरुद्वारा कालोपट्टी बाँधेर काठमाडौंमा प्रदर्शन(फोटोफिचर)

काठमाडौं । विद्यालय शिक्षा विधेयकका केही प्रावधानप्रति विरोध गर्दै निजी विद्यालय सञ्चालकहरुले कालोपट्टी बाँधेर काठमाडौंमा प्रदर्शन गरेका छन् ।

प्याब्सन, एनप्याब्सन, हिसान, अपेनलगायतका निजी विद्यालयका संगठनहरुले संयुक्त रुपमा सोमबार माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म प्रदर्शन गरेका हुन् । विद्यालय शिक्षा विधेयकमा पूर्णछात्रवृत्तिको व्यवस्था र गैरनाफामुलक भन्ने व्यवस्था हटाउनु पर्ने उनीहरुको माग छ ।

माग सम्बोधन नभए विद्यालय नै बन्द गर्ने चेतावनी उनीहरुले दिँदै आएका छन् । विद्यालय शिक्षा विधेयकको प्रतिवेदन संसदीय समितिबाट पास भएर प्रतिनिधि सभामा पेस भइसकेको छ ।

उनीहरुले ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाइनुपर्ने, विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना/खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई ‘गैर–नाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने, छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने र छात्रवृत्ति सम्बन्धी ऐन, २०२१ को दफा ३(क), नियमावली, २०६० को नियम १० (क), मा ४५% आरक्षण छात्रवृत्ति व्यवस्था तथा २०७७ को संशोधन ऐन अन्तर्गतको विभेदकारी प्रावधान जसअनुसार केवल कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेकाले मात्र उच्च शिक्षामा, सीटीईभीटी कार्यक्रम अन्तर्गत अध्ययन गर्न पाउने व्यवस्थामा भएको विभेदकारी ऐन नियमका दफाहरू खारेज गरिनुपर्ने माग राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *