परराष्ट्रमन्त्रीसँग विपिनकी आमा र बहिनीको भेट, रिहाइका लागि थप पहल गर्न आग्रह

काठमाडौं । हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीकी आमा पद्या र बहिनी पुष्पा जोशीले आइतबार परराष्ट्रमन्त्री डा. आरजु राणासँग भेट गरेका छन् ।

मन्त्रालयमा उनीहरुसँग भेट भएको परराष्ट्रमन्त्री राणाले जानकारी दिएकी छन् । भेटमा उनीहरुले विपिनको रिहाइमा नेपाल सरकारले जारी राखेको पहलका लागि धन्यवाद दिँदै आगामी दिनमा थप प्रयत्न गर्न आग्रह गरेका थिए ।

परराष्ट्र मन्त्रालयको पहल तथा नेपालस्थित इजरायली राजदूतावासको समन्वय एवं सहयोगमा विपिनकी आमा र बहिनी विपिनको अवस्था बुझ्न र इजरायल सरकारलाई अपील गर्न इजरायल गएका थिए ।

परराष्ट्रमन्त्री राणाले आफूले भेटमा उनीहरुलाई सरकारले विपिनको रिहाइमा गरेका र जारी राखेका कूटनीतिक प्रयत्नका बारेमा जानकारी गराएकी थिइन् ।

विपिनको आग्रह बमोजिम नै विपिनको रिहाइका लागि सरकारले आगामी दिनमा थप सशक्त पहल गर्ने परराष्ट्रमन्त्री राणाले जानकारी दिएकी छन् । त्यसअघि आजै बिहान विपिनकी आमा र बहिनीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर रिहाइका लागि पहल गर्न आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *