नेपालका धर्महरुमा पुनर्जन्मबारे नेपाल समाजको बहस

काठमाडौं । मानिसको पुनर्जन्ममा सत्यता छ ? पुनर्जन्मका विषयमा किन फरक फरक मत छन् ? यसै विषयमा शनिबार नेपाल समाज मिडिया प्रालिले नेपालका धर्महरुमा पुनर्जन्मको अवधारणाबारे विभिन्न धर्मका धर्मगुरुहरुसँग अन्तरक्रिया गरेको छ । कार्यक्रममा हिन्दू जागरण नेपालका  संस्थापक अध्यक्ष रामकृष्ण उपाध्यायले वैदिक दर्शन अर्थात् सनातन धर्ममा पुनर्जन्मको धारणाबारे प्रकाश पारेका थिए । उनले वैदिक दर्शनले मानिसको पुनर्जन्म हुने बताएको उल्लेख गरे । उनले वेदले जीवात्माले शरीर छाडेर जाने र फेरि अर्को शरीरमा जन्म लिने उल्लेख गरेको बताए  । त्यस्तै सूर्य जस्तै अस्ताए पनि फेरि उदाउँछ, त्यसैगरी आत्माले पनि मृत्युपछि पुनः जन्मधारण गर्ने कुरा वेदमा उल्लेख भएको उनको भनाई थियो ।  उनकाअनुसार उपनिषदमा पनि पुनर्जन्मको कुरा उल्लेख गरिएको छ ।

त्यस्तै रामायणमा पनि पुनर्जन्मको कुरा उल्लेख गरिएको उपाध्यायले बताए । उनका अनुसार जय विजय भगवान विष्णुका पार्षद थिए । श्रापको कारणले तीन जन्म राक्षस बनेर जन्मिएका थिए । पहिलो जन्मममा हिरण्याक्ष, र हिरण्यकश्यपु, दोस्रो जन्ममा रावण र कुम्भकर्ण तथा तेस्रोजन्ममा शिशुपाल र दन्तवक्त्र । यसबाट पनि पुनर्जन्म हुने कुराको पुष्टि हुने उनले बताए ।

त्यस्तै पुराणहरुमा पनि पुनर्जन्मको कुरा उल्लेख  गरिएको उनले बताए । श्रीमदभागवतमा राजा भरतको तीन जन्मको प्रसंग उल्लेख गरिएको उदाहरण दिँदै उनले भने, ‘लगभग कुनै पुराण बाँकी छैनन्, जसमा पूर्वजन्म र मोक्षको कुरा नगरिएको होस् ।’
गरुडपुराणका अनुसार  ब्रह्महत्याराले मृग, अश्व, सुंगुर  उँट, सुवर्णचोरी गर्नेले कीरा फटयांग्रा, धान्य आदि अन्न चोरी गर्नेले मुसा, फल चोरी गर्नेले बाँदर, गिद्ध, अर्काको धन हरण गर्नेले अपस्मार मृगी, स्त्रीको आम्दानी खानेले लंगडा, मित्रहत्या गर्नेले उल्लु, असत्य बोल्नेले भगभके बोली हुने गरी पुनर्जन्म लिने उल्लेख गरिएको छ ।

कार्यक्रममा थेरावादमा पुनर्जन्मको अवधारणाबारे लेखक वसन्त महर्जनले प्रकाश पारेका थिए । उनले भगवान बुद्धले पुनर्जन्मलाई गहन चिन्तनको विषयको रुपमा उल्लेख गरेको जानकारी दिए । थेरवाद बौद्ध परम्परामा पुनर्जन्मको मान्यता अत्यन्त महत्वपूर्ण शिक्षामध्ये एक भएको उनले बताए । उनका अनुसार बौद्ध पुनर्जन्मलाई कर्मसंस्कारसँग जोडेर हेर्ने गरेको पाइन्छ र सोअनुसार कुनै पनि योनीमा जन्मिने हुन्छ । अर्थात् मान्छेपछि मान्छे नै भएर जन्मनुपर्छ भन्ने अनिवार्य छैन । उनकाअनुसार मृत्युपछि जुनसुकै योनीमा जन्मिएपनि त्यो पुनर्जन्मनै हो । उनले भने, ‘आफ्नो पुण्यअनुसार कहिले प्रेत वा पशुपंक्षी भएर जन्मेका हुन्छन् भने कहिले देवलोकहरुमा जन्मिएर देवता बनेका हुन्छन् । कहाँ कतिखेर के भएर जन्मिने भन्ने कुरा उसको कर्ममा भर पर्दछ र सोही अनुसार मनुष्य भएर जन्मिने हो ।’

उनका अनुसार थेरवाद बौद्ध परम्पराअनुसार सत्वहरु कर्मको फलस्वरुप ३१ लोकहरुमा पुनर्जन्म लिन्छन् ।  पुनर्जन्म हिन्दू धर्मले भन्ने गरेजस्तो आत्मा सरेर हुने प्रक्रिय नभई  कर्म र चेतनाको निरन्तर प्रवाहको परिणाम हो । यसले अनात्म, कर्म र प्रतीत्यसमुत्पादनका सिद्धान्तसँग प्रत्यक्ष सम्बन्ध राख्दछ  ।

थेरवादको अन्तिम लक्ष्यबारे महर्जनले भने, ‘थेरवादको मात्रै नभएर सबै बौद्धहरूको अन्तिम लक्ष निर्वाण हो । महायानी बौद्धहरूको अन्तिम लक्ष सम्मासम्बुद्ध हुने भनेजस्तै थेरवादी बौद्धहरूको अन्तिम लक्ष अर्हत्व लाभ भन्ने गरिएपनि अन्ततः यो निर्वाण नै हो । निर्दिष्ट साधनाबाट तृष्णा क्षय गरी जन्म र मृत्युको दुश्चक्रबाट मुक्त हुनुलाई अर्हत्व भनिन्छ । महायानी बौद्धहरू अरुको पनि मुक्तिमा सहायक होउँ भन्ने आदर्श बोक्दछन् भने थेरवादमा यो आदर्शको अभाव देखिन्छ । यही भएर थेरवादलगायत श्रावकयानका सबै निकायहरूलाई हिनयान भन्ने गरिन्छ । र, यस अर्थमा थेरवादको अन्तिम लक्ष्य पनि पुनर्जन्म हुन नपर्ने गरी जन्म र मृत्युको दुश्चक्रको अन्त्य अर्थात् निर्वाण लाभ भन्न सकिन्छ । सारमा.भन्नुपर्दा, थेरवाद बौद्ध परम्पराअनुसार पुनर्जन्म हिन्दू धर्मले भन्नेगरेजस्तो आत्मा सरेर हुने प्रक्रिया नभई कर्म र चेतनाको निरन्तर प्रवाहको परिणाम हो । यसले अनात्म, कर्म, र प्रतीत्यसमुत्पादका सिद्धान्तसँग प्रत्यक्ष सम्बन्ध राख्छ ।’

कार्यक्रममा नेपाल बौद्ध महासंघका पूर्वअध्यक्ष आचार्य नोर्वु शेपाले महायानमा पुनर्जन्मको अवधारणाबारे प्रकाश पारेका थिए । उनले द्वन्द्वात्मक भौतिकवादी समाजले पुनर्जन्मको कुरै सुन्न नचाहने गरेको भन्दै यो विषयलाई बहसको विषय बनाउनुपर्ने बताए ।

उनले महायानमा पुनर्जन्म र कर्मफल जोडिएर आउने बताए । उनले शरीर माटोमा मिल्ने तर मनले भने अर्को जन्म लिने बताए । बुद्धको जातक कथामा ५ सय पटक शुद्ध र अशुद्ध जन्म लिएको कुरा उल्लेख भएको उनले बताए ।

उनले भने,‘मानिस धनी, गरिब हुनुको कारण हाम्रो जीवनमा पूर्वजन्मको सम्बन्ध हुन्छ । जस्तो एउटै स्कूलमा पढेका छोराछोरी कोही एकदम राम्रो पढ्छन्, कोही नराम्रा हुन्छन् । त्यो किन भयो त भन्दा पुनर्जन्मको कारण हो ।’

हाम्रो कर्मका कारण अर्को जन्मको निर्धारण हुने उनको भनाई छ । उनले गुरु रिम्पोछे नै पुनर्जन्मको उदाहरणका रूपमा रहनुभएको बताए । कर्म र क्लेशका आधारमा पुनर्जन्मपछिको अवस्था कस्तो हुन्छ भनी निर्धारित हुने विषय महायानका अभिधर्मकोशलगायत ग्रन्थमा वर्णन गरिएको उनले उल्लेख गरे । मानिसमा पूर्वजन्मदेखिकै चित्तधारा बगिरहेको हुने विषय पनि त्यस्ता ग्रन्थमा लेखिएको शेर्पाको भनाइ थियो ।

बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मोहनकुमार तामाङले पुनर्जन्म सम्बन्धमा नेपालमा अभ्यासमा रहेका मुख्य धर्मका आचार्य गुरुहरूबाट धेरै विषय प्रस्तुत भएकाले आगामी दिनमा विस्तारमा यससम्बन्धी कार्यक्रम राख्न सुझाव दिए ।

नेपालमा मानिने मुख्य धर्म हिन्दू र बौद्धमा पुनर्जन्मलाई माने पनि ती दुवैमा भएका भिन्नताका बारेमा पनि प्रष्ट हुने आवश्यक रहेको उनको भनाई थियो ।

नेपाल बौद्ध महासङ्घका संस्थापक अध्यक्ष खेन्पो ग्यूर्मे छुल्ट्रिमले पूर्वीय दर्शन क्षेत्रका चार्वाकबाहेक सबै पूर्वदार्शनिकले पुनर्जन्मलाई मानेर आएको बताए । हिन्दू र बौद्ध दुवैले पुनर्जन्मलाई माने पनि परिभाषाको मतमा भने केही भिन्नता रहेको उनले बताए । उनले चन्द्रकृतिको न्यायशास्त्रमा पुनर्जन्मको कुरा  उल्लेख भएको बताए ।

कार्यक्रममा बौद्ध विद्वान लोवचा पुण्यप्रसाद पराजुलीले कार्यक्रमकाबारेमा प्रकाश पारेका थिए । उनले पुनर्जन्मसम्बन्धी विषयका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *