वर्षौंपछि पाकिस्तानका परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण

ढाका । पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा गएका छन् । सन् १९७१ मा पृथक भएका दुई राष्ट्रबीच सम्बन्ध सुधार्ने प्रयासस्वरूप भएको यो भ्रमण विगत दशकमा उच्चस्तरीय पहिलो भेटवार्ता हो ।

इस्लामाबादले यस भ्रमणलाई ‘पाकिस्तान–बंगलादेश सम्बन्धमा एक महत्त्वपूर्ण उपलब्धि’ भएको बताएको छ । दुई देशबीच व्यापार लगायत विभिन्न क्षेत्रहरूमा समझदारीपत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।

पाकिस्तानको परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री डारले बंगलादेशका वर्तमान कार्यवाहक नेता, नोबेल शान्ति पुरस्कार विजेता डा. मोहम्मद युनुससँग भेटवार्ता गर्नेछन् ।

भारतको दृष्टिकोण

यस्तो पृष्ठभूमिमा छिमेकी राष्ट्र भारतले यस भ्रमणलाई विशेष ध्यानका साथ हेरिरहेको विश्लेषकहरूले बताएका छन् । गत वर्षको मे महिनामा भारत र पाकिस्तानबीच छोटो अवधिको सशस्त्र संघर्ष भएको थियो ।

साथै, सन् २०२४ को जुलाई महिनामा बंगलादेशमा भएको व्यापक जनआन्दोलनले प्रधानमन्त्री शेख हसिनाको शासन अन्त्य भएपछि, उहाँ भारततर्फ प्रस्थान गर्नुभएपछि, ढाका–नयाँ दिल्ली सम्बन्धमा चिसोपन देखिएको हो ।

“बंगलादेश अतीतमा भारतको सबैभन्दा नजिकको साझेदार रहँदै आएको थियो, तर अहिले भारतको मुख्य प्रतिद्वन्द्वी मुलुकसँग सुमधुर सम्बन्ध बनाउने प्रयासमा रहेको देखिन्छ,” अमेरिकी विश्लेषक माइकल कुगेलम्यानले बताए।

व्यापार र सुरक्षा क्षेत्रको सहकार्य

पाकिस्तान र बंगलादेशले विगत वर्ष समुद्री मार्ग हुँदै व्यापार प्रारम्भ गरेका थिए । यस वर्षको मार्च सरकारी तहमा व्यापार विस्तार सम्बन्धी सम्झौता गरिएको थियो ।

पाकिस्तानका वाणिज्य मन्त्री जाम कमाल खान हालै ढाका पुग्नुभएको थियो, जहाँ उहाँले बंगलादेशी अधिकारीहरूसँग व्यापार र लगानी प्रवद्र्धनका लागि संयुक्त आयोग गठन गर्ने सहमति जनाए ।

त्यसैगरी, शुक्रबार दुबै मुलुकका उच्च सैनिक अधिकारीहरूबीच पाकिस्तानमा भेटवार्ता सम्पन्न भएको थियो ।

ऐतिहासिक पृष्ठभूमि

सन् १९७१ मा पूर्वी पाकिस्तान अलग भई बंगलादेशको स्थापना भएपछि, ती दुबै देशबीचको सम्बन्ध निकै संवेदनशील रहँदै आएको छ । सो युद्धको क्रममा पाकिस्तानी सेनामाथि व्यापक हिंसा र अत्याचारको आरोप लाग्दै आएको छ । बंगलादेशका अनुसार लाखौं नागरिकले ज्यान गुमाएका थिए । धेरै नागरिकहरूले आज पनि पाकिस्तानबाट औपचारिक माफीको अपेक्षा राखेका छन् ।

स्वतन्त्रता पछि बंगलादेशले भारतसँग नजिकको सम्बन्ध राख्दै आएको थियो । भारतले चारैतिरबाट घेरेको बंगलादेश हाल झण्डै १७ करोड जनसंख्या भएको मुलुक हो ।

तर वर्तमानमा कार्यरत अन्तरिम सरकारले भारतको भूमिमा पूर्व प्रधानमन्त्री शेख हसिनालाई संरक्षण दिइएकोप्रति असन्तुष्टि जनाउँदै आएको छ । हसिनामाथि मानवता विरोधी अपराधको आरोपमा मुद्दा चलिरहेको भए पनि उनी अदालतमा हाजिर हुन अस्वीकार गर्दै भारतमै बसेका छन् ।

“शेख हसिनाको सत्ताच्युत हुनु भारतका लागि रणनीतिक दृष्टिले ठूलो धक्का थियो । यसपछि पाकिस्तान–बंगलादेश सम्बन्धमा देखिएको सुधार त्यसको प्रत्यक्ष परिणाम हो,” अन्तर्राष्ट्रिय संकट समूहका विश्लेषक थोमस कीनले भने ।

हालै ढाकाले भारतमाथि निषेधित घोषित अवामी लिग पार्टीलाई समर्थन गरेको आरोप लगाएको थियो। भारतले भने यस्तो आरोप अस्वीकार गर्दै आफ्नो भूमिबाट अरू देशविरुद्ध राजनीतिक गतिविधि हुन नदिने स्पष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *