काठमाडौं । अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो अन्तिम खेलमा नेपालसामु जितका लागि पाकिस्तानको शाहिन्सले १४५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
शुक्रबार डार्विनमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पाकिस्तान साहिन्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १४४ रन बनाएको हो । पाकिस्तानका लागि कप्तान इर्फान खानले ४२ रन बनाए । इर्फानले २६ बलमा तीन चौका एक छक्का प्रहार गरे । अब्दुल समदले २६ रन बनाए । महोम्मद वासिनले समान २३ रन बनाए ।
यासिर खानले १८ र मेह्रान मुम्ताजले १० रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । सोमपालले चार ओभरमा ३० रन खर्चिए ।
नन्दन यादव, दिपेन्द्र सिंह ऐरीले समान दुई विकेट लिँदा कुशल भुर्तेलले एक विकेट लिए । प्रतियोगितामा आज नेपाल तेस्रो जितको खोजीमा छ । नेपालले यसअघिका पाँचमध्ये तीन खेलमा हार र दुई खेलमा जित निकालेको थियो ।