काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले दुई पटक राष्ट्रपति भइसकेको व्यक्तिले पार्टीमा यस्तो समस्या खडा गर्नुहुन्छ भन्ने आफूले कल्पना समेत नगरेको बताएका छन् ।
शुक्रबार पार्टी कार्यालयमा आम जनता पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले भण्डारीले चुनाव हारेकाहरूलाई भेला गरेर जमात खडा गरेको भन्दै असन्तुष्टि जनाए ।
उनले भने, ‘पार्टीमा यस्तो समस्या खडा गर्नुहुन्छ भनेर कल्पना समेत हामीले नगरेको हो । दुईपटक पूर्वराष्ट्रपतिले भएको व्यक्ति पार्टीमा फर्कने नाममा पार्टीमा समस्या निम्ताउने काममा गर्न उद्दत हुनु ठिक छैन।’
उनले एक वर्षपछि आउने मदन भण्डारी ७५ ओैं जन्मजयन्तीको नाममा कार्यालय खोलेर पार्टीका जनसंगठनमा समेत पराजित र असन्तुष्ट अनुहार लिएर समस्या उत्पन्न गर्न खोज्नु गैरराजनीतिक कार्य भएको बताए ।
उनले पार्टीले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता खोसिएको भन्ने आरोपमा सत्यता नभएको बताए । उनले भण्डारीले छोडेको सदस्यता नवीकरण नहुने बताए ।
उनले भने, ‘च्यासलले सदस्यतामा प्रश्न उठायो भनेको सुनिरहनुभएको छ । कसैको सदस्यता खोसेको पनि छैन र खोस्नुपर्ने आवश्यकता पनि छैन । उहाँले सदस्यता छाडेर राष्ट्रपति हुन जानुभएको हो । छोडेको सदस्यता नवीकरण हुँदैन, भइरहेको मात्र नवीकरण हुन्छ । कसैको सदस्यता छैन भने नवीकरण हुन्छ र ?’