नेपाल–चीन सीमा सुरक्षा र आपसी सहकार्यलाई अझ मजबुत बनाउन आवश्यकः महावाणिज्यदूत निरौला

ल्हासा । ल्हासामा आयोजित ‘नेपाल बहिर्गमन–प्रवेश कागजातहरूको अनुसन्धान र सुरक्षा व्यवस्थापन’ सम्बन्धी तालिम सोमबार सम्पन्न भएको छ । समापन कार्यक्रममा ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले नेपाल–चीनबीच सीमा सुरक्षा र आपसी सहकार्यलाई अझ मजबुत बनाउन तालिमले महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् ।

समारोहमा जनवादी गणतन्त्रको राष्ट्रिय अध्यागमन प्रशासन तथा तिब्बत अध्यागमन कार्यालयलाई कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दै महावाणिज्यदूत निरौलाले दुवै देशबीच आपसी समझदारी, व्यावसायिक सीप आदान–प्रदान र सीमा सुरक्षामा क्षमतावृद्धि हुने विश्वास व्यक्त गरे।

उनले तालिमले सुरक्षा निकायबीच सहकार्य बढाउन मद्दत गरेको उल्लेख गरे । उनले भने ,’सहभागीहरूले प्राप्त गरेको ज्ञान र अनुभवले सीमा सुरक्षामा योगदान पुर्याउनुका साथै नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ बनाउन पनि सहयोग पुग्नेछ ।’

तालिममा सहभागीहरूलाई कागजात व्यवस्थापनसम्बन्धी सीप तथा अभ्यास गराइएको थियो । महावाणिज्यदूत निरौलाले सिकाइलाई व्यवहारमा उतार्न आग्रह गर्दै दुबै मुलुकले साझा शान्ति, स्थायित्व र समृद्धिको लक्ष्य साझा गरेको उल्लेख गरे ।

उनले आयोजक तथा प्रशिक्षकप्रति आभार प्रकट गर्दै भविष्यमा अझ सघन सहकार्यको अपेक्षा व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सिजाङ अध्यागमन जाँचको जनरल स्टेशनका महानिर्देशक वाङ शिहोङलगायत उच्च अधिकारीहरू सहभागी थिए ।

समारोहको अध्यक्षता उपमहानिर्देशक डगे लेक्सले गरेका थिए । कार्यक्रममा महावाणिज्यदूत निरौला, महानिर्देशक वाङ शिहोङ र नेपाली प्रशिक्षार्थीका प्रतिनिधि शंकर पोखरेलले सम्बोधन गरेका थिए।

वक्ताहरूले तालिमले दुबै देशबीचको सहयोग तथा सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। समापन कार्यक्रममा प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *