ट्रम्प, युक्रेनी राष्ट्रपति र युरोपेली नेताको बैठकमा के भयो सहमति ?

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको बैठकमा युरोपेली नेताहरू पनि सहभागी भएका छन् । बैठकको मुख्य उद्देश्य युक्रेन युद्धलाई अन्त्य गर्ने उपाय खोज्नु रहेको छ ।

बैठकमा ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र जेलेन्स्कीबीच नजिकै हुने द्विपक्षीय भेटपछि त्रिपक्षीय वार्ता गर्ने तयारी भइरहेको जानकारी गराएका छन् । जेलेन्स्कीले भने आफू ‘कुनै पनि ढाँचामा’ पुटिनसँग छलफल गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।

बैठकमा युक्रेनका लागि सुरक्षा ग्यारेन्टीबारे समेत चर्चा भएको जेलेन्स्कीले बताए। उनले युरोपेली कोषमार्फत अमेरिकन हतियार खरिद गर्न ९० अर्ब डलर खर्च गर्ने प्रस्ताव र युक्रेनमै ड्रोन उत्पादन गरेर त्यसको केही भाग अमेरिकाले खरिद गर्ने योजना समेत प्रस्तुत भएको जनाए। तर औपचारिक सहमति भने आगामी केही दिनमा हुने अपेक्षा गरिएको छ ।

युक्रेनी भूभागको सीमारेखाबारे बैठकमा औपचारिक छलफल नभएको नेताहरूले स्पष्ट पारेका छन्। नाटो महासचिवका अनुसार यो विषय सम्भावित त्रिपक्षीय बैठकमार्फत मात्र टुंगो लाग्नेछ ।

यसैबीच, फिनल्याण्डका राष्ट्रपति एलेक्जान्डर स्टबले युरोपेली नेताहरूले ट्रम्पमार्फत पुटिनलाई फोन गरी ह्वाइट हाउसको छलफलबारे जानकारी दिने निर्णय गरेको बताएका छन्।

यसैबीच, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले ह्वाइट हाउसको उच्चस्तरीय वार्ताको प्रमुख उपलब्धि युक्रेनका लागि अमेरिकी सुरक्षा ग्यारेन्टीमा काम गर्ने सहमति रहेको बताएका छन् ।

म्याक्रोंले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीचको वार्ता पहिलो चरणमा द्विपक्षीय रूपमा हुनुपर्ने, त्यसपछि मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहितको त्रिपक्षीय बैठकतर्फ अघि बढ्न सक्ने बताए ।

उनले भने, ‘वार्ता हुनु अघि युद्धविराम आवश्यक छ। यसलाई युद्धविराम भन्नुस् वा अस्थायी सम्झौता, तर बम आक्रमण भइरहेका बेला छलफल सम्भव छैन ।’

ट्रम्पले पुटिनसँग सम्झौता गर्ने क्षमतामा विश्वास देखाएकोप्रति स्वागत गर्दै उनले पुटिनले पनि शान्ति चाहेकोमा विश्वास गर्न चाहेको बताए। तर, यदि वार्ता असफल भएमा रुसलाई पुनः वार्तामा ल्याउन युरोप थप कडा प्रतिबन्ध लगाउन तयार हुनुपर्ने चेतावनी पनि म्याक्रोंले दिए ।

त्यस्तै, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ट्रम्प प्रशासनले युक्रेनी राष्ट्रपति जेलेन्स्की र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच ‘अभूतपूर्व’ बैठकको तयारी गरिरहेको बताए । उनका अनुसार उक्त भेट सफल भएमा त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, पुटिन र जेलेन्स्कीबीच त्रिपक्षीय बैठक हुने सम्भावना छ। रुबियोले पुटिनले जेलेन्स्कीलाई भेट्न सहमति जनाउनु नै ठूलो उपलब्धि भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *