तिब्बत स्वायत्त प्रदेश स्थापनाको ६०औँ वार्षिकोत्सवमा महावाणिज्यदूत निरौलाको बधाई

ल्हासा । ल्हासास्थित नेपालका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले तिब्बत स्वायत्त प्रदेश स्थापना भएको ६०औँ वार्षिकोत्सवको अवसरमा चीनलाई बधाई ज्ञापन गरेका छन् । विज्ञप्ति जारी गरी महावाणिज्यदूत निरौलाले तिब्बत स्वायत्त प्रदेश स्थापना भएको ६०औँ वार्षिकोत्सवको अवसरमा शुभकामना दिएका हुन् ।

उनले भनेका छन्, ‘जनवादी गणतन्त्र चीनका राष्ट्रपति महामहिम सी चिनफिङको नेतृत्वद्वारा प्रेरित यो ऐतिहासिक अवसरले विगत ६ दशकमा प्राप्त उल्लेखनीय प्रगति र सपनालाई मनाउने अवसर प्रदान गरेको छ।’

महावाणिज्यदूत निरौलाले आर्थिक तथा सामाजिक विकास, सांस्कृतिक संरक्षण र जातीय ऐक्यबद्धतामा तिब्बतले हासिल गरेको उपलब्धि उल्लेखनीय रहेको भन्दै त्यसले समन्वय, सहअस्तित्व र साझा समृद्धिको भावनालाई प्रतिविम्बित गर्ने बताएका छन् ।

नेपाल, दीर्घकालीन मित्र र छिमेकीको नाताले, यी उपलब्धिहरूको साक्षी हुन पाएकोमा गर्व गर्ने उनले बताएका छन् । उनले भनेका छन्, ‘हामी तपाईंकै उपलब्धिबाट प्रेरित छौँ र शान्ति तथा प्रगतिका सहयात्रीका रूपमा उभिन पाउँदा सम्मानित महसुस गर्दछौँ ।’

तिब्बत स्वायत्त प्रदेश अझै उच्च शिखरमा पुग्ने र नेपाल–तिब्बतबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्दै उनले तिब्बती जनताको स्थायी मित्रता र आत्मीय आतिथ्यप्रति आभार प्रकट गरेका छन् ।

तिब्बत र नेपालबीच विशेष सांस्कृतिक र व्यापारिक सम्बन्ध छ । चीनसँग हुने दुई तिहाइ व्यापार नेपालको तिब्बतसँग हुने गरेको छ । ल्हासामा नेपालको मात्र महावाणिज्य दूतावास छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *