‘उपरखुर्टी’मा अल्झिने कि एजेण्डामा बहस गर्ने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री नरेन्द्र मोदीकातर्फबाट भारत भ्रमणको निम्ता दिन भारतीय विदेश सचिव विक्रम मिश्री आइतबार काठमाडौं आएका छन् । काठमाडौं आएलगत्तै विदेश सचिव मिश्रीले प्रधानमन्त्री ओलीबाट भेटवार्ता सुरु गरे । मिश्रीले प्रधानमन्त्रीलाई भेटेर भारत भ्रमणको औपचारिक निमन्त्रणा दिए । मिश्रीसँगको भेटको तस्बिर प्रधानमन्त्री ओलीको सचिवालयले नै सार्वजनिक गर्यो । धेरै वटा तस्बिरमध्ये एउटा तस्बिर विदेश सचिव मिश्री उपरखुट्टी लगाएर बसेको थियो । यो तस्बिर सार्वजनिक भएपछि प्रधानमन्त्रीलाई भारतीय विदेश सचिवले हेपेको भन्दै सामाजिक संजालमा आलोचना सुरु भयो । विदेश सचिवले राष्ट्रपति रामचन्द्र पौडेल, माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणालगायतसँग भेट गरे । तर उनीहरुसँगको भेटमा भने विदेश सचिवले उपरखुट्टी लगाएको तस्बिर देखिएनन् । कूटनीतिक शिष्टाचारमा यसलाई सम्मानजनक व्यवहार मानिँदैन ।

माओवादीले भने विदेश सचिवले प्रधानमन्त्री ओलीप्रति शिष्टता नदेखाएको रुपमा व्याख्या गरेको छ । माओवादी सांसद लेखनाथ दाहालले प्रचण्ड र प्रधानमन्त्रीसँग विदेश सचिवले भेटेको तस्बिर राखेर  सामाजिक संजालमा लेखे, ‘सम्माननीय प्रधानमन्त्री र श्रद्धेय अध्यक्ष कामरेड प्रचण्डसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट । फरक के छ र ?’

त्यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य मनहरि तिमिल्सिनाले भारत भ्रमणअघि नै भारतीय कर्मचारीले ओलीलाई कुटनीतिक मर्यादा नाघेर हेपेको उल्लेख गरेका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, ‘प्रधानमन्त्री ओलीको भ्रमण सवा वर्षसम्म स्वयम् भारतले रोक्यो । जब विद्या भण्डारी एमाले राजनीतिमा सक्रिय हुने घोषणा भयो, स्वयम् भारतले नै हतार–हतार ओलीको भ्रमण निम्तो गर्यो । ओली भाद्र २९ मा नयाँदिल्ली जाँदैछन् । भ्रमणअघि नै भारतीय कर्मचारीले ओलीलाई कुटनीतिक मर्यादा नाघेर हेपेका छन् । सम्भवतः यो ओलीलाई दवावमा राखेर भारतीय स्वार्थअनुकूलका सम्झौता गराउने प्रयासको प्रारम्भ पनि हुन सक्छ।’

राप्रपाका नेता सुरेश आचार्यले हामी नेपालीले नै त्यस्तो अबस्थामा पुर्याएको टिप्प्णी गरेका छन् । उनको टिप्पणी छ, ‘भारतीय विदेश मन्त्री वा सचिवले मात्र होइन, सहसचिवले पनि हाम्रा प्रधानमन्त्रीसँग भेटघाट गर्दा ‘उपरखुट्टी हान्ने’ भारतीय कूटनीतिक प्रचलन नेपालमा गणतन्त्र आए देखिकै हो । नेताहरूले देश नै राजनीतिक, आर्थिक, व्यापारिक र सांस्कृतिक रूपमासमेत भारत निर्भर बनाइदिएपछि अब हामी जनताले मात्रै चिन्ता देखाएर के गर्ने ? त्यो अवस्थामा नेपाललाई भारतीयले पुर्याएको होइन, हामी नेपालीले नै त्यहाँ पुर्याएका हौं । मूलकुरा, भारतका विदेशमन्त्री, सचिव र सहसचिवले त्यसरी उपरखुट्टी लगाएर नेपाली प्रधानमन्त्रीलाई भेटेको इतिहास थाहा पाएपछि हाम्रा प्रधानमन्त्रीलाई पहिले नै उपरखुट्टी लगाएर तम्तयार पारेर राख्नु पर्दैन थियो ?’

नेकपा एमालेका नेता महेश बस्नेतले पनि विदेश सचिव मिश्रीको व्यवहार अमर्यादित भएको टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपालका प्रधानमन्त्रीसँग भेटमा खुट्टा चडाएर बसेको तस्बिरले सामाजिक सञ्जालमा आज धेरै नै चर्चा पाएको छ । हाम्रो संस्कृति र कूटनीतिक शिष्टाचारमा यसलाई सम्मानजनक व्यवहार मानिँदैन । प्रधानमन्त्री वा राष्ट्रप्रमुखसँग भेट्दा संयमित आसन, सम्मानयुक्त भंगिमा र मर्यादित व्यवहार अपेक्षित हुन्छ । व्यक्तिगत सहजता जस्तो देखिए पनि यस्तो दृष्यले राष्ट्र र पदको गरिमा कमजोर बनाउँछ । कूटनीतिक सम्बन्धमा आचरण र शिष्टताले नै मित्रताको गहिराइ देखाउँछ भन्ने कुरा नबिर्सौं।’

तर पूर्वराजदूत विजयकान्त कर्ण यस्ता विषयमा बहस गर्नुको औचित्य नभएको बताउँछन् । उनी बहस यसमा नभई व्यापार असन्तुलन, सुपुर्दगी सन्धी, सीमा सुरक्षालगायका विषयमा हुनुपर्ने बताउँछन् । उनको भनाई छ, ‘भारतका विदेश सचिवको भ्रमणको विषय र प्रधानमन्त्री खड्गप्रसाद ओलीजीको भारत भ्रमणबारे कुनै छलफल छैन । प्रोटोकलबारे अत्यन्त चिन्ता छ सामाजिक सञ्जालमा । नेपालीहरू अनावश्यक प्रोटोकलको अलि बढी चिन्तन गर्न थाले । प्रोटोकल परिवर्तन भइरहेको छ। भेटघाट तरिका आदिमा ठूलो परिवर्तन भई आएको छ । चिन्तन भारतीय लगानी, व्यापार असन्तुलन, सुपुर्दगी सन्धि, Mutual legal Assistance,  power trade, बाढी नियन्त्रण, पञ्चेश्वर परियोजना, बोर्डर सुरक्षा, स्मगलिङबारे छलफल आवश्यक छ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *