काठमाडौँ । स्याउको राजधानीका रूपमा प्रख्यात मुस्ताङमा स्याउ टिप्ने (पोस्ट हार्भेस्ट) कार्यतालिका सार्वजनिक गरिएको छ ।
जिल्ला समन्वय समितिकी प्रमुख माया गुरुङको अध्यक्षतामा आज यहाँ बसेको स्याउ टिप्ने जिल्लास्तरीय समन्वय बैठकले उक्त कार्यतालिका सार्वजनिक गरेको हो ।
जिल्लामा उत्पादन हुने स्याउको गुलियोपना कायम गर्न र गुणस्तर कायम गरी उपभोक्ताबीच पृथक किसिमको ‘ब्राण्ड’ र पहिचान स्थापित गर्ने उद्देश्यले स्याउ टिप्ने कार्यतालिका तय गरिएको जिल्ला समन्वय समितिले जनाएको छ ।
मुस्ताङका पाँच वटै गाउँपालिकाका अध्यक्ष तथा, जिल्लास्थित कृषि ज्ञान केन्द्र, शीतोष्ण बागवानी विकास केन्द्र (मार्फा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ स्याउ जोन (मुस्ताङ), भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, स्थानीय कृषक, समूह, सहकारी र स्याउ फार्मका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायलगायत संयुक्त जिल्लास्तरीय समन्वयात्मक बैठकले तीन चरणमा स्याउ टिप्ने निर्णयसहित नयाँ ढाँचामा कार्यतालिका सार्वजनिक गरेको समितिकी प्रमुख गुरुङले जानकारी दिइन्।
उनका अनुसार आसन्न हरितालिका तीज पर्वलाई लक्षित गर्दै उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) गाला जातको स्याउ आगामी भदौ ५ गतेदेखि टिपेर बजारीकरण गर्ने बैठकले निर्णय गरेको छ । हाइब्रिड किङरट जातको स्याउ आगामी भदौ १५ गतेदेखि तथा अन्य हाइब्रिड र स्थानीय जातका स्याउ भदौ २५ गतेदेखि टिप्ने निर्णय गरिएको प्रमुख गुरुङले जानकारी दिइन् ।