नेपाल पर्वतारोहण सङ्घमा गुरुङ समूहको उम्मेदवारी घोषणा

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को नयाँ कार्यसमितिका लागि कुलबहादुर गुरुङ समूहले उम्मेदवारी घोषणा गरेको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा सङ्घको आगामी भदौ ७ गते काठमाडौँमा हुन लागेको महाधिवेशनका लागि गुरुङ समूहले उम्मेदवारी घोषणा गरेको हो । धादिङ रुविभ्यालीका गुरुङ विगत ३३ वर्षदेखि पर्वतीय पर्यटन व्यवसायमा आवद्ध छन् । उनी यसअघि एनएमएको महासचिव भएर काम गरिसकेका छन् ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा टीकाराम गुरुङ, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबु शेर्पा, द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विमलकुमार नहर्की, सचिवमा डिमा डिकी शेर्पा र कोषाध्यक्षमा सुमी लामाले उम्मेदवारी दिएका छन् ।

यस्तै, सदस्य पदमा पुष्कर शाह, बलबहादुर सुयाल, हरिगोपाल प्रधान, माधवप्रसाद पाण्डे, दिकी शेर्पा, सुदास लामा, लालबहादुर जिरेल, नुर्बु छिरिङ शेर्पा लामा, पासाङ शेर्पा, गीता राई र अशोक तामाङले उम्मेदवारी दिएका छन् ।

पत्रकार सम्मेलनमा अध्यक्षका उम्मेदवार गुरुङले सुरक्षित, जिम्मेवार दिगो हिमाली पर्यटनको विकासलाई आफ्नो प्रमुख एजेण्डा बनाएको बताए । उनले जलवायु परिवर्तनका कारण हिमालमा परेको असरलाई विश्वमाझ ध्यानाकर्षण गराउने उल्लेख गरे ।
उनले हिमालसँग सम्बन्धित स्थानीय उत्पादन, सेवा र जनशक्तिलाई प्राथमिकता दिने, नयाँ पुस्तालाई पर्वतीय तालिम प्रदान गर्ने, संस्थागत पारदर्शीता कायम राख्ने बताए ।

यस्तै, वार्षिक रुपमा अन्तर्राष्ट्रिय हिमाल महोत्सव आयोजना गर्ने, विश्व मञ्चमा नेपालको हिमाल ‘ब्राण्डिङ’ गर्ने, लगायतका कार्यक्रम आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *