‘डिजिटल’ माध्यमको समुचित प्रयोग गर्न सभापति देउवाको आग्रह

ललितपुर । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘डिजिटल’ माध्यमको सचेतना, जिम्मेवार र समुचित प्रयोग नै डिजिटल भविष्यको आधार भएको बताएका छन् ।

नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक कार्यक्रमको शुभारम्भ गर्दै डिजिटल माध्यमको सबैले सकारात्मक प्रयोग गरेर समाज राष्ट्रमा योगदान पुर्याउन सक्ने बताए ।

सभापति देउवाले भने,’डिजिटल माध्यमले हरेक सेवा र सुविधालाई छिटोछरितो र पारदर्शी बनाएको छ, हामी सबैले यसको सकारात्मक प्रयोग गरेर व्यक्तिगत, सामाजिक र राष्ट्रिय विकासमा टेवा पुर्याउन सक्छौँ, आजको युग विज्ञान र प्रविधिको युग हो, हामी अहिलेको युगलाई डिजिटल युग भन्छौँ, मोबाइल, इन्टरनेट, कम्प्युटर र सामाजिक सञ्जालको माध्यमबाट हरेक दिन करोडौँ मानिसहरू डिजिटल प्लेटफर्महरूमा जोडिएका छन्, डिजिटल प्लेटफर्महरू शिक्षा, स्वास्थ्य, बैंकिङ, हवाई, सरकारी सेवालगायतका विभिन्न क्षेत्रमा प्रयोग भइरहेका छन्, हामीले यसको प्रयोग शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहमा जिम्मेवार र प्रभावकारी रूपमा गर्न आवश्यक छ ।’

सूचना प्रविधिले जनतालाई छिटो, सजिलो र पारदर्शी ढङ्गले सेवा दिन उल्लेखनीय भूमिका खेलिरहेको छ जनाउँदै सभापति देउवाले घरघरमा इन्टरनेटको पहुँच, मोबाइल बैंकिङ, अनलाइन फाराम, डिजिटल स्वास्थ्य सेवा तथा डिजिटल शिक्षा यी सबै प्रविधिमैत्री योजनाले जनताको जीवनशैली सरल, समावेशी र सम्मानजनक बनाउँदै लगेका बताए ।

उनले भने, ‘कांग्रेस नेतृत्वको सरकारको अग्रसरतामा जारी भएका दूरसञ्चारसम्बन्धी नीति, ऐन र नियमहरूले आज नेपालका टाढाका बस्ती र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याएको छ । यसका अतिरिक्त प्रविधिको क्षेत्रमा धेरै काम अझै गर्न बाँकी नै छन् ।’

सभापति देउवाले हाम्रो पार्टी, कांग्रेस, सधैँं नवप्रवर्तन र प्रविधिमार्फत सामाजिक रूपान्तरणको पक्षमा उभिँदै आएको छ चर्चा गर्दै कांग्रेसले डिजिटल प्लेटफर्मलाई आर्थिक गतिविधि बढाउन, सुशासन कायम गर्न, प्रविधिमा पहुँच पुर्याई विशेष गरी युवा, विद्यार्थी, उद्यमी, किसान, अनुसन्धानकर्ता र समग्र निजी क्षेत्रको सिर्जनशीलता प्रवद्र्धन गर्न उपयोग गर्ने र जनतालाई केन्द्रमा राखेर उपलब्धि केन्द्रित प्रविधि नीति बनाउने पक्षमा छ भने ।

सबै मिलेर प्रविधिमैत्री, नवप्रवर्तनशील र समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको उनले बताए । ‘डिजिटल प्लेटफर्मले कामलाई सहजता र तीव्रता दिएको छ, समयको बचत गरेको छ, स्रोतमा पहुँच पुर्याएको छ र अझ भनौँ विश्वसँग जोडिने अवसर प्रदान गरेको छ, यसको सकारात्मक पक्ष हुँदाहुँदै पनि कतिपय कुरामा यसले नकारात्मक असर पनि पुर्याएको छ, नागरिकलाई सचेत बनाउँदै प्रविधिको भरपर्दो र सुरक्षित उपयोग गर्नका लागि यस प्रकारको अन्तरक्रियात्मक कार्यक्रमले सहयोग पुर्याउनेछ भन्ने मैले विश्वास लिएको छु ।’सभापति देउवाले भने ।

उनले डिजिटल प्लेटफर्ममा देखिएका नागरिक असुरक्षित हुने समस्याको समाधानका लागि सरकार र सरोकारवाला निकायहरूले समयमै ध्यान दिन आवश्यक छ भन्दै यस प्रकारको अन्तरक्रियात्मक कार्यक्रमले सबैलाई सचेत बनाउने र ठोस नीति निर्माणमा मार्गदर्शन गर्नेछ भन्ने आशा व्यक्त गर्दछु भने ।

सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले डिजिटल माध्यम अहिले मानवीय जीवनको महत्वपूर्ण आधार बनेको जनाउँदै यसको उपयोगका विषयमा धेरै कुरा सिक्न अनिवार्य रहेको धारणा राखिन् । उनले पार्टीका सरोकारका विषय र सैद्धान्तिक विचारलाई डिजिटल मञ्चमार्फत उजागर गर्नुपर्नेमा जोड दिइन् ।

नेपाली कांग्रेसका केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले वर्तमान आधुनिक युगमा डिजिटल मिडिया र माध्यमको पहुँच नै बलियो रहेको भन्दै यसको प्रभावकारी उपयोग आवश्यक भएकोमा जोड दिए । उनले सबै डिजिटल माध्यम मिडिया हैनन् भन्दै डिजिटल माध्यमबाट प्रभावित वर्तमान समुदाय र समाजलाई पार्टीको गतिविधि र सकरात्मक सन्देश सम्प्रेषणमा प्रभावकारी बनाइनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *