रासायनिक मलमा प्रधानमन्त्रीलाई छल !

काठमाडौं । सरकारले कुनै राम्रो काम गर्यो, भयो र गर्दैछ भने प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संजालमार्फत त्यसको प्रचारप्रसार गर्दै आएका छन् । यसैक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनअघि सामाजिक संजालमार्फत यसवर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भनेर सरकारले विशेष ध्यान दिएको खबर सार्वजनिक गरे । उनले कृषि मन्त्रालयले दिएको जानकारी भन्दै तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात रहेको र १ लाख ४० हजार ५०४ मेट्रिक टन मल आउने क्रममा रहेको बताए । प्रधामन्त्रीले कृषि मन्त्रालयलाई हवाला दिँदै मलको तथ्यांक नै प्रस्तुत गरे । प्रधानमन्त्रीका अनुसार यतिबेला कृषि सामग्री कम्पनीमा २९ हजार १११ मेट्रिक टन मल मौज्दात छ । जसमा —

✅ युरियाः १६,५३९ मेट्रिक टन
✅ डिएपीः ७,६५३ मेट्रिक टन
✅ पोटासः ४,९१५ मेट्रिक टन
यस्तै साल्ट ट्रेडिङ कम्पनीमा १३ हजार ७१२ मेट्रिक टन मल मौज्दात छ । जसमा —
✅ युरियाः १०,९८४ मेट्रिक टन
✅ डिएपीः ९४२ मेट्रिक टन
✅ पोटासः १,७८५ मेट्रिक टन

त्यस्तै उनले कतै मलको अभाव महसुस भए सम्बन्धित निकायमा जानकारी गराउन अनुरोधसमेत गरे । प्रधानमन्त्रीले यसरी तथ्यांकसहित जानकारी दिएको देख्दा किसानलाई अब मलको कुनै अभाव छैन भन्ने लाग्थ्यो । तर प्रधानमन्त्रीले यसरी तथ्यांक प्रस्तुत गरे पनि किसान भने मलको अभावमा भौंतारिएका समाचार भने आइरहेका थिए । खेतमा रोपाइँ गरेको पनि एक महिना बितिसक्दा पनि मल नपाएको गुनासासहितका खबर भने आउन छाडेनन् ।

हौसिएर रासायनिक मलको अभाव नरहेको भन्दै सामाजिक संजालमार्फत जानकारी गराएका प्रधानमन्त्रीले आफूले त्यस्तो लेखेको दुई दिनपछि कृषि र उद्योगमन्त्रीसहित सम्बद्ध अधिकारीलाई बोलाएर मंगलबार छलफल गरे । छलफलका क्रममा प्रधानमन्त्रीले उद्योग र कृषिमन्त्रीलाई जवाफदेही निकाय जवाफदेही हुन नसक्दा नै काम गर्नेले गाली पाउँछ र विरोध मात्रै गर्नेको वाहवाही हुने गरेको बताए ।

उनले भने, ‘जवाफदेही निकाय जवाफदेही हुन नसक्दा नै काम गर्नेले गाली पाउँछ र विरोध मात्रै गर्नेको वाहवाही हुन्छ र हरेक सरकारी निकायहरू आफ्नो परिभाषित काममा आफैं जवाफदेही हुनुपर्छ। नागरिकको समस्यामा सरकार चुप लागेर बस्न मिल्दैन। किसानले किन ‘मल पाएनौं’ भनिरहेका छन् ? यो गुनासो तत्काल सम्बोधन गर्न सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिएको छु । सम्बन्धित निकायलाई जनस्तरबाट पनि खबरदारी भैरहोस्। समस्या हेरेर बस्ने होइन, समाधान गर्ने हो।’

त्यतिमात्र होइन प्रधानमन्त्रीले तपाईंहरुले मल आपूर्ति नगर्दा आफूले गाली खाइरहेको बताएका छन् । उनले भने, ‘मलाई धेरै कुरा भन्दा पनि मल चाहियो ।तपाईँहरूको संस्थाले मल आपूर्ति गर्न सकेको छैन। तर, गाली तपाईंहरूको संस्थाले खाएको छैन। गाली त नेताहरू, पार्टी र मन्त्रीले खाएका छन्। म प्रधानमन्त्री हुने वित्तिकै आइन्दा के–के व्यवस्था गर्नुपर्छ गरौँ, तर मलको आपूर्तिमा कमी नहोस् भनेर स्पष्ट निर्देशन दिएको थिएँ । तर त्यो अनुसार भएन।’

दुई दिनअघि मल मौज्दात छ, कतै अभाव भए सम्पर्क गर्नु भनि प्रधानमन्त्रीले सार्वजनिक अपील नै गरेका थिए । तर त्यसको दुई दिनपछि मल किन ल्याउन नसकेको भनि विभागका कर्मचारीसँग प्रधानमन्त्री रुष्ट भएको देखियो । अर्थात् मल रैनछ, कम्तीमा भनेजति हैन रैछ । शक्तिशाली प्रधानमन्त्रीलाई भ्रमित गरेर किन निरीह बनाइँदैछ ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *