काठमाडौं । साउन ३१ गते (१६ अगस्ट) मा ‘सतीदेवी’ फिल्मको अमेरिकाको भर्जिनियामा विशेष प्रदर्शनी गरिँदैछ । महिलाहरुको महान पर्व तीजको अवसर पारेर नारीहरुको सम्मानमा ‘सतीदेवी’ को विशेष शो गर्न लागीएको जानकारी आयोजक पुष्कर पन्तले दिएका छन् ।
लामो समयदेखि अमेरिका बसोबास गर्दै आएपनि नेपाली चलचित्र निर्माण, कलाकारिता तथा समाजसेवामा समेत उत्तिकै सक्रिय पुष्कर पन्तले राष्ट्रियलगायत थुप्रै अवार्ड विजेता चर्चित फिल्म भएकाले आफूहरुले विशेष शो गर्न लागेको बताए ।
चलचित्र विकास बोेर्डद्वारा आयोजित राष्ट्रिय चलचित्र अवार्ड–०८० मा विशेष चलचित्र पुरस्कार जित्न सफल नारी प्रधान चलचित्र ‘सतीदेवी’ ले अहिलेसम्म राष्ट्रियसहित एक दर्जन उत्कृष्ट अवार्डहरु जितिसकेको छ ।
लक्ष्मण सुवेदीको लेखन,निर्माण र निर्देशनमा बनेको चलचित्रमा मलिका महत, रमेश बुढाथोकी, सन्दीपबाबु लोहनी, कुलबहादुर अधिकारी, सृजना अधिकारी, बालकलाकार हर्षिका वली र मञ्जिला बानियाँलगायतले अभिनय गरेका छन् ।
गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नीयासँगको सहकार्यमा दिलासा कृएसनको प्रस्तुति रहेको चलचित्रको निर्मातामा दिलासा, सारा, श्रीदेवी र विशाल सुवेदी छन् । निर्देशक सुवेदीले ‘सतीदेवी’ को भर्जिनियापछि अन्य राज्यमा पनि विशेष शो हुन लागेको जानकारी दिएका छन् ।