काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कुलिङ अफ पिरियडको जिम्मा लिनुपर्छ भन्ने कुरा भएको भए पनि यसमा संसद् मौन भएको बताएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद शिशिर खनालले आफूहरूले भिजिट भिसा प्रकरणको कुरा उठाउँदै गर्दा लिचीबारीदेखि कुलिङ पिरियडमाथि बदमासीसम्मको कुरा आउँदा समेत कारबाही नभएको भन्दै आपत्ति जनाएका हुन् ।
उनले भने, ‘यो सँगै जब भ्रष्टाचार र बिचौलियाको संरक्षण गर्ने सरकार रहन्छ, त्यसले मुलुक र लोकतन्त्रलाई दुर्घटना मा लग्दछ। हामी दुई महिना भन्दा लामो समयदेखि ‘भिजिट भिसा’ को नाममा भइरहेको मानव तस्करीका विरुद्ध उच्चस्तरीय स्वतन्त्र छानबिन समिति माग गरेर आन्दोलित भइराख्दा, ‘लिचीवारि’ बेच्ने अडियो टेप आयो, पासपोर्टको छपाइमा भागबन्डा भएको खबर बाहिरियो, कुलिंङ पिरियडको बदमासी को जिम्मेवारी लिनु पर्ने निष्कर्ष निस्कियो। र पनि संसद् मौन छ र उल्टै विपक्षीको आवाज लाई निस्तेज पार्न प्रयास हुन्छ । केही दिन अगाडि एयरपोर्टको अध्यागमनमा गृह मन्त्रालयका कर्मचारीले अझै घुस लिइरहेको सूचना प्रहरीकोमा पुग्छ तर गृहमन्त्रीलाई अप्ठेरो पर्छ भनेर छानबिन अगाडि बढ्दैन ।’ उनले भ्रष्टाचार र बिचौलियाको संरक्षण गर्ने सरकारले मुलुक र लोकतन्त्रलाई दुर्घटनातर्फ लाने बताए ।
उनले प्रधानमन्त्रीलाई ‘हाउ डेमोक्रेसी डाई’ पुस्तक पढ्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘प्रधानमन्त्री ज्यूलाई मेरो अनुरोध हाउ डेमोक्रेसी डाई’ एक पटक पढ्नुहोस्, अनि आफू र आफ्नो सरकारले एकवर्षदेखि गरेका कामगरुसँग मूल्याङ्कन गर्नुहोला ।हामी त सु–शासन होस्, छानबिन होस्, भ्रष्टाचारीहरू मन्त्रीको पदमा बहाल नरुहुन् भन्ने चाहन्छौ। तपाई के चाहनुहुन्छ ?’