काठमाडौं । मदन–आश्रित स्मृति प्रतिष्ठानको साउन २३ गते भएको ३१ औँ साधारणसभाबाट एमालेका उपमहासचिव प्रदीप ज्ञवाली अध्यक्ष निर्वाचित भएका थिए । प्रतिष्ठानको उपाध्यक्षमा रामेश्वर फुयाँल, सचिव मधु तिम्सिना र कोषाध्यक्षमा सरोज दाहाल निर्वाचित भएका थिए । प्रतिष्ठानको शपथग्रहण कार्यक्रम सोमबार राखिएको थियो । पार्टी केन्द्रीय कार्यालय च्यासलमा उनीहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओली शपथ खुवाए । शपथपछि अध्यक्ष ओलीले कार्यक्रमलाई सम्बोधन गरेका थिए । विगतमा औपचारिक कार्यक्रममा ओलीले माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आक्रोश पोख्ने गरेका थिए । तर सोमबारको कार्यक्रममा भने ओलीको अभिव्यक्ति ती दल भन्दा मदन भण्डारी फाउण्डेशनप्रति लक्षित थिए । ओलीले अधिकांश समय मदन भण्डारीका नाममा खर्चिए । उनले मदन भण्डारी फाउन्डेसनका पदाधिकारीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाए । उनले फाउन्डेसन पार्टीको हितसँग जोडिएको भए पनि अब कसरी जान्छ हेर्नुपर्ने उल्लेख गरे ।
ओलीले स्थापित नेताको सम्मानमा खोलिएका र पार्टीसँग जोडिएका प्रतिष्ठान र संस्थाहरु ठगी खाने भाँडो हुन नहुने बताए । उनको भनाई थियो, ‘मदन–आश्रित स्मृति प्रतिष्ठान तत्कालीन महासचिव मदनकुमार भण्डारी र तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधनपछिको शोकको घडीमा जनताको बहुललीय जनवाद (जबज)को वैचारिकतालाई अगाडि बढाउन २०५० जेठ ९ गतेको पार्टी निर्णयबाट खोलिएको हो । पछि पार्टीले मदन जयन्ती मनाउने सन्दर्भमा पनि पर्याप्त ध्यान नदिएको अवस्थामा व्यक्तिगत आधारमा मदन भण्डारी फाउन्डेशन खोलिएको थियो । अहिले फाउन्डेशन गतिविधि र यसको नेतृत्वले आन्दोलनप्रति निष्ठा देखाउन छाडेको छ । यस्ता संस्थाहरु पार्टीसँग निष्ठावान् हुनुपर्छ । पार्टी हित विपरीत प्रयोग हुनुहुँदैन ।’
जननेता मदन भण्डारीको ७४ औँ जन्म जयन्तीका अवसरमा गत असार १४ गते मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू राजनीतिमा फर्किने घोषणा गरेकी थिइन् । उनले सोही कार्यक्रममा आफूले नेकपा एमालेको सदस्यता नविकरण गरेकोसमेत बताएकी थिइन् । पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा फर्किने घोषणा गरेपछि मदन भण्डारी फाउण्डेशन ओलीको निशानामा पर्न थालेको हो ।
भण्डारीले सदस्यता नविकरण गरेको बताएपछि ओलीले उनको सदस्यता नवीकरण रोकिदिएका छन् । केन्द्रीय समिति बैठकमार्फत ओलीले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गर्दै राजनीतिमा उनको आगमनलाई रोकिदिएका छन् ।
तर पूर्वराष्ट्रपति भण्डारी संरक्षक रहेको फाउण्डेशनले मदन भण्डारी हिरक जयन्ती मूल व्यवस्थापन समितिको थापागाउँमा छुट्टै कार्यालय स्थापना गरेको छ । मदन भण्डारीको ७५औं जन्मजयन्ती मनाउन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा ७५ सदस्यीय मूल व्यवस्थापन समिति बनेको छ । समितिले जनताको बहुदलीय जनवाद (जबज) र मदन भण्डारीका बारेमा वर्षभर विमर्शका कार्यक्रमहरू राख्ने बताइएको छ । विद्यालाई रोक्न ओलीले सदस्यता नविकरण नगर्ने निर्णय गरेपनि पूर्वराष्ट्रपति भण्डारी पक्षधरले मदन भण्डारी हिरक जयन्तीका निम्ति बनेको समितिमार्फत गतिविधि गर्ने योजना बनाएको छ । फाउण्डेशनले समानान्तर गतिविधि गर्न थालेको भन्दै ओली आक्रोशित भएका हुन् । सोमबारको ओलीको अभिव्यक्तिप्रति सामाजिक संजालमा एमालेका केही नेता कार्यकर्ताले आक्रोशसमेत पोखेका छन् ।
अनेरास्ववियुको निर्वाचनमा अध्यक्षमा पराजित प्रकाश पौडेलले ओलीको अभिव्यक्तिबाट एमालेका लाखौं कार्यकर्ताको मन पोलेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘श्रद्धेय पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, माधव नेपालहरुले टेक्ने धर्ती हिँड्ने बाटो नदिएको बेला तपाईंलाई उजागर गर्ने माध्यम थियो मदन भण्डारी फाउण्डेसन । आज तपाईंले दिएको अभिव्यक्ति लाखौं एमालेका कार्यकर्ताको मन पोलेको छ लेख्न बोल्न नसक्लान् तर मैले लेखें । क्रान्तिमा सबै ठिक र उपलब्धिपछि ती बिषय गलत भन्ने बिषय साचो बोल्ने मान्छेले स्वीकार गर्न सक्ने बिषय बन्न सक्दैन । मदन भण्डारी फाउण्डेसन मदनको जीवन र विचारलाई जिवित राख्ने महत्वपूर्ण माध्यम हो ।’
अब फाउण्डेशनको गतिविधि र एमाले पार्टीको गतिविधिले पार्टीमा टकराव बढाउने निश्चित जस्तै भएको छ । यसले एमालेलाई कहाँ पुर्याउला ? त्यसका लागि भने केही समय कुर्नैपर्छ । तर एउटा कुरा चाहिँ के हो भने अब विपक्षी दलले भन्दा मदन भण्डारी फाण्डेशनका पदाधिकारी ओलीको आक्रोश खेप्न भने तयार भएर बसे हुन्छ ।