काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना व्यक्त दिँदै युवाको ऊर्जा र सपना राष्ट्रको भविष्य भएको बताएका छन्। प्रधानमन्त्री ओलीले आज दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत युवाहरूलाई शुभकामना दिँदै यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीले फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य रहेको उल्लेख गर्दै भनेका छन्, “हाम्रो सकारात्मक सोच, निरन्तरको प्रयास र एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउने सङ्कल्प पूरा हुनेछ।”
ओलीले युवा दिवसले युवालाई राजनीतिक क्षेत्रमा सशक्त रुपमा लाग्न प्ररणा दिएकोसमेत बताएका छन्। ‘आज अन्तरराष्ट्रिय युवा दिवस। सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले युवाहरूको योगदान, अधिकार र अवसरको सम्मान गर्ने दिनका रूपमा हरेक वर्ष अगस्ट १२ लाई युवा दिवस घोषणा गर्यो’, उनको शुभकामना सन्देशमा भनिएको छ, पहिलोपटक सन् २००० मा युवा दिवस मनाइएको थियो। यसले युवालाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सशक्त बनाउन प्रेरणा दिएको छ।’
आज नेपालसहित विश्वभरि नै युवा दिवस मनाइँदै छ। राष्ट्रिय युवा परिषद्कै अगुवाइमा २०७३ सालदेखि युवा दिवस मनाउन थालिएको हो।