बीबीसी । गाजा सिटीको अल–शिफा अस्पताल नजिक इजरायली आक्रमणमा पाँच जना अल जजीराका पत्रकारसहित सात जनाको मृत्यु भएको छ । अल जजीराका अनुसार, मृतकमध्ये संवाददाता आनास अल–शरीफ र मोहम्मद कुरिकेह तथा क्यामेराम्यान इब्राहिम जाहेर, मोहम्मद नुफाल र मोआमेन अलिवा रहेका छन् ।
उनीहरू अस्पतालको मुख्य गेटमा पत्रकारका लागि बनाइएको टेन्टभित्र रहेका बेला आक्रमण भएको हो । संस्थाले यस घटनालाई ‘पत्रकारिताको स्वतन्त्रतामाथिको स्पष्ट र योजनाबद्ध आक्रमण’ भन्दै निन्दा गरेको छ ।
आक्रमणपछि इजरायली रक्षा बलले आनास अल–शरीफलाई लक्षित गरिएको पुष्टि गर्दै उनलाई ‘हमासको आतंकवादी सेलको प्रमुख’ भएको दाबी गरेको छ । अन्य पत्रकारको बारेमा भने कुनै टिप्पणी गरिएको छैन ।
संस्थाका प्रबन्ध सम्पादक मोहम्मद मोआवादका अनुसार, अल–शरीफ मान्यताप्राप्त पत्रकार थिए र ‘गाजा पट्टीको अवस्थाबारे संसारलाई जानकारी दिने एक मात्र आवाज’ बनेका थिए ।
युद्ध सुरु भएदेखि इजरायलले अन्तर्राष्ट्रिय पत्रकारलाई गाजामा प्रवेश गर्न नदिएकाले धेरै अन्तर्राष्ट्रिय मिडियाले स्थानीय पत्रकारमार्फत समाचार संकलन गर्दै आएका छन्।